arrow

विद्यालाई एमाले पुनरागमनको पूर्वाभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
vidyadevi-bhandari-always-8.jpg

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको जनवर्गीय संगठनहरुले विस्तारै राजनीतिक यात्रामा पुनरागमनको पूर्वाभ्यास गराउन थालेका छन् । 

एमालेको सदस्यता त्यागेको करिब १० वर्षपछि एमालेकै औपचारिक कार्यक्रममा सहभागी गराएर पुनरागमनको पूर्वाभ्यास गराएको हो ।

बुधबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा शुरु भएको एमालेको महिला भेलामा पूर्वराष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष भण्डारीलाई प्रमुख अतिथि बनाएपछि पार्टी राजनीतिमा आउने पूर्वाभ्यासको रुपमा लिइएको छ ।  

भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली विशेष वक्ताका रुपमा सहभागी भएका थिए । राष्ट्रिय महिला भेला जारी छ । बिहीबारसम्म यो भेला जारी रहनेछ ।  एमालेले काठमाडौँमा राष्ट्रिय महिला भेला गरेको हो । 

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गराए पनि बुधबारको आकर्षण भने भण्डारीप्रति थियो । कार्यक्रममा ओली बीच भागमा बसेका थिए । उनको दायाँ पूर्व राष्ट्रपति भण्डारी र बायाँतिर पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य थिइन् । 

ओलीले अहिले शाक्यलाई पार्टी कार्यक्रममा प्राथमिकताका साथ अघि सारेका छन् । एमालेभित्र एकथरी नेता कार्यकर्ताहरुले भण्डारीलाई पार्टी जीवनमा फर्काउने कोसिस गरिरहेका छन् ।

 ‘ओलीको विकल्पमा भण्डारीलाई पार्टीमा ल्याउनुपर्छ भन्ने मत छ त्यसैको परिणाम आजको भेलामा प्रमुख अतिथि बनाइएको हो’, एमालेका एक पादधिकारीले भने ।

२०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावको रूपमा पास गरेको थियो । 

एमालेकी तत्कालीन उपाध्यक्षका हैसियतमा भण्डारीकै नेतृत्वमा महिलाको अधिकार सम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको थियो । 

उक्त सङ्कल्प प्रस्तावमा चार बुँदा समेटिएका थिए । आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानून खारेजी, महिला हिंसाको अन्त्य लगायत विषय समेटिएको थियो । 

चार बुँदा नै महिला अधिकार स्थापना गर्नका लागि संविधानको जग भएकाले त्यसलाई सेलिब्रेट गर्न यसको भेलाको आयोजना गरेको जनाएको छ । यिनै चार बुँदा पास हुनुमा भण्डारीलाई जश दिने गरिएको छ ।

एमालेले मिसन–२०८४ सफल बनाउन महिलाको भूमिका प्रभावकारी बनाउन सहयोग पुग्ने बताएको छ ।  

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा एमाले आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी भएको आयोजकको दाबी छ ।

भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुने छ । समूह प्रस्तुतिपछि भेलाका निष्कर्षहरू सार्वजनिक गरिनेछ ।

बुधबारको भेलालाई सम्बोधन गर्दा पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक विषयमा भने प्रवेश गरिनन् । तर सामाजिक विषयमा गरिएको सम्बोधनले पूरै हलमा ताली बजेको थियो । 

उनले महिलाहरु नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन् तर गोलमोटल रुपमा मात्रै नेतृत्वको कुरा उठाएकी थिइन् । 

उनले महिलाहरूले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै राष्ट्रिय मुद्दाहरूमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन् । 

उनले महिलाहरूले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्डाहरूमा पनि नेतृत्व लिनुपर्ने बताउदै वर्तमान राजनीतिक अवस्थातर्फ सार्वजनिक रुपमा प्रवेश गरिनन् । 

सम्बोधनको क्रममा पूर्वराष्ट्रपति भण्डारीले लैङ्गिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तीकरणका अभियानहरू महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिइन् । 

बरु उनले  महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मूल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको बताएर आर्थिक अवस्था सबल बनाउन र व्यक्तिगत सचेतना वा सशक्तीकरणमा मात्र सीमित नभई महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रूपान्तरणको विषयसँग जोड्नुपर्ने बताएर राजनीतिक मुद्धालाई स्केप गरिन  ।  

पूर्वराष्ट्रपति भण्डारीले महिलाहरूको जनस्वास्थ्यमा गम्भीर चुनौती देखापरिरहेको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएरु आफ्नो अभिव्यक्ति टुंग्याएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ