arrow

मोबाइल व्यवसायी महासंघ भन्छ – चोरीका मोबाइल मर्मतमा आउँदा छुट्याउन सकिँदैन कानून चाहियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
nepal-mobile-mahasangh-81-2.jpg

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतका समयमा व्यवसायीहरुले झमेला भोग्नु परिरहेको बताएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतमा देखिंदै आएको कानुनी समस्याको समाधानतर्फ सरकारले चासो देखाउनु पर्ने बताएको हो । 

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल मर्मतका समयमा व्यवसायीहरुलाई असहज अवस्था रहेको र व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेको बताए । 

‘चोरी भएका, हराएका मोबाइलहरु मर्मतका लागि व्यवसायीहरुसम्म आइपुग्दा सो बारे व्यवसायी जानकार नरहने तर मर्मतपछि प्रहरी प्रसासनसँगको समन्वय र कानुनी व्यवस्थाको अभाव हुँदा व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेका छन्, सरकारले यो समस्या समाधान गर्न कानुनी रुपमा नै बाटो खोज्नु पर्छ,’ अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा भने । 

भट्टराईले भन्सार छलीमार्फत भित्रने (ग्रे मोबाइल फोन) ले बजारको अवस्था बिग्रदो अवस्थामा पुर्याएकोसमेत बताए । जसका कारण सरकारको राजश्वमा घाटा भइ देशको अर्थतन्त्रमा नकारात्मक असर बढ्दो रहेको उनको भनाइ छ । 

सो कारोबारको अन्त्य गर्नका लागि सरकारले तत्काल आवश्यक नीति बनाउनु पर्ने उनले बताए । संघका महासचिव रमेश घिमिरेले मोबाइल सेटको दोस्रो बिक्री (सेकेण्ड ह्यान्ड कारोबार) मा सरकारको नीति प्रष्ट नहुँदासमेत बिक्री सहज हुन नसकेको बताए ।

‘मोबाइलको सेकेण्ड ह्यान्ड कारोबारमा सरकारको नीति प्रष्ट छैन, नीति नहुँदा बिक्री पनि सहज छैन, जसका कारण व्यवसायीहरु मारमा छन्, यसलाई व्यवस्थित बनाउँदा दोस्रो पटकको बिक्रीको अवस्था बढ्ने र देशको पैसा देशभित्रै रहने वातावरण बन्ने छ, यो किसिमको कारोबार गर्न वैध व्यवस्था नहुँदा उपभोक्तासमेत मारमा छन्’ महासचिव घिमिरेले भने ।  

यसैगरी नेपालमा मोबाइल एसोसरिजको अन्डर विलिङको कारोबारसमेत बढ्दो रहेको महासंघले जनाएको छ । त्यस्ता एसोसरिजहरु भन्सार भएर आउँदा नै सरकारले कडा रेखदेख र नीति कायम गर्न नसक्दा त्यसको मार साना व्यवसायीहरुले भोग्नु परिरहेको महासंघको दाबी छ । 

यसलेसमेत सरकारको राजश्वमा नकारात्मक असर रहेको महासंघले बताएको छ । 

महासंघको दोस्रो केन्द्रीय महाधिवेशन तथा तेस्रो साधारण सभा अगामी २५ जेठमा काठमाडौँमा हुँदैछ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महाधिवेशनको उद्घाटन गर्ने तयारी छ । 

महाधिवेशनबाट संघको आगामी नयाँ नेतृत्व चयन हुने छ । 

२०७६ मा तदर्थ समिति निर्माण भई २०७८ असार २७ गते काठमाडौँ जिल्ला प्रसासन कार्यालयमा दर्ता भएको नेपाल मोबाइल व्यवसायी महासंघको सात प्रदेशसहित ७० जिल्लामा शाखा छ । 

महासंघमा करिब २० हजार व्यवसायी जोडिएका छन् भने महाधिवेशनमा भने सात प्रदेशका ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ