- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर। मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
बिहीबार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनमत पार्टीको संयुक्त बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी केन्द्रका नेता भरतप्रसाद साहले जानकारी दिए ।
सहमतिमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ ।
सरकारमा यी तीन दलसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ ।
एक सय सात सदस्यीय प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टीका आठ र एकीकृत समाजवादीका सात सांसद् छन् ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् ।
यही जेठ २१ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । साथै मुख्यमन्त्री यादवले यही जेठ २३ गते प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्।