arrow

बागमतीका लालप्रसादले जिते बक्सिङ च्याम्पियनशिप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
boxing-winner1.jpg

पोखरा । पर्यटकीय राजधानी पोखरामा आयोजना गरिएको बक्सिङ च्याम्पियनसिपमा पुरुषतर्फको ५१ केजी तौल समूहमा बागमती प्रदेशका लालप्रसाद उप्रेतीले उपाधि जितेका छन् ।

उनले कर्णाली प्रदेशका लक्ष्मण राईलाई पराजित गरी उपाधि जितेका हुन् । साथै महिलातर्फको ४८ केजी तौल समूहमा मधेस प्रदेशकी मनिषा राई प्रथम भइन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् ।

प्रतियोगिता पोखरा महानगरपालिका खेलकुद विकास समितिले पोखरा रङ्गशालास्थित बक्सिङ रिङमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे ।

महिला ५० केजीमा बागमतीकी रमिसा श्रेष्ठले त्रिभुवन आर्मी क्लबकी लालुमाया खत्रीलाई पराजित गरिन् । पुरुष ६० केजीतर्फ सुदूरपश्चिमका रामबहादुर थापालाई पराजित गर्दै गण्डकीका शिव सिलवाल विजयी भए । महिला ५२ केजीमा सशस्त्र प्रहरीको एपिएफ क्लबकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भइन् ।

पुरुषतर्फको ६३ केजी समूहमा गण्डकीका निश्चल गुरुङले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा गण्डकीकी प्रियङ्का गुरुङ कोशीकी नारिका गुरुङसँग पराजित भइन् ।

यसैगरी पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशाङ्ग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । महिला ७० केजीतर्फ सशस्त्र प्रहरीको एपिफ क्लबकी बिनिता थापामगरले गण्डकीकी अस्मिता बस्नेतलाई पराजित गरी उपाधि जितिन् ।

यसैगरी ७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदूरपश्चिमका भरत चन्दसँग पराजित हुनुभयो । महिलातर्फ ७५ केजीमा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरिन् । पुरुष ७५ केजी तौल समूहमा बागमती प्रदेशका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर विजयी भए ।

यसैगरी पुरुष ८० केजीतर्फ बागमतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङलाई र ८६ केजीमा गण्डकीका किरन विकले लुम्बिनीका प्रसन थापालाई पराजित गरी उपाधि आफ्नो पक्षमा पार्न सफल भए ।

प्रतियोगितामा विजेता बक्सरलाई जनही नगद रु २० हजार र उपविजेताले जनही नगद रु १० हजार, प्रमाणपत्र र पदकबाट पुरस्कृत गरिएको कास्की जिल्ला बक्सिङ सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट बक्सरमा गण्डकीका निश्चल गुरुङ र महिलातर्फ एपिएफकी विनिता थापामगर घोषित भए ।

बक्सिङ च्याम्पियनसिपमा महिलातर्फ १२ र पुरुषतर्फ १८ गरी ३० जना बक्सरले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए । पोखरामा बक्सिङ राष्ट्रियस्तरको च्याम्पियनसिप नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाहेक १७ वर्षपछि आयोजना भएको हो । यसअघि विसं २०६४ मा राष्ट्रिय बक्सिङ प्रतियोगिता पोखरामा आयोजना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ