- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिश क्लब रियाल मड्रिडले जितेको छ । फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियालले १५औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार राति इङ्गल्याण्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा रियाललाई उपाधि दिलाउन ड्यानी कार्भाहाल र भिनिसियस जुनियरले गोल गरे ।
७४औँ मिनेटमा टोनि क्रसको पासमा कार्भाहालले तथा ८३ औँ मिनेटमा जुड बेलिंघमको पासमा जुनियरले गोल गरेका हुन् ।
उपाधि विजेता रियाल मड्रिडले क्वार्टरफाइनलमा इङ्गलिश क्लब म्यानचेस्टर सिटी र सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो ।
फाइनलमा पराजित डर्टमन्डले क्वार्टरफाइनलमा स्पेनिश क्लब एथलेटिको मड्रिड र सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई हराएको थियो ।
रियाल प्रशिक्षक कार्लो एन्सेलोटीले सबैभन्दा बढी पाँच ओटा च्याम्पियन्स लिग उपाधि जित्ने कीर्तिमान आफ्नो नाममासमेत लेखाएका छन् ।
च्याम्पियन्स लिगको इतिहासमा रियाल मड्रिड सर्वाधिक सफल टिम हो । सन् १९५५ देखि शुरु भएको लिगमा रियालले १५, मिलानले ७, बायर्न म्युनिख र लिभरपुलले समान ६, बार्सिलोनाले ५, आयाक्सले ४ तथा इन्टर मिलान र म्यानचेस्टर युनाइटेडले समान ३ पटक उपाधि जितेका छन् ।