arrow

७८ महिनापछि जसपाले गुमायो सत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
sarojkumar-yadav-cm-madhes.jpg

धनुषा।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् ।  मधेश प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत परेको छ भने विपक्षमा ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक थियो । प्रदेशसभामा एक सय तीन सांसद उपस्थित थिए । 

मुख्यमन्त्री यादवले डेढ वर्षमा बुधबारसहित पाँचौँ पटक विश्वासको मत लिनुप¥यो । मुख्यमन्त्रीलाई उनको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले मतदान गरेका छन् । विसं २०७९ पुस २३ मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए ।

गठबन्धन फेरबदल हुँदा पनि यसअघि मुख्यमन्त्री यादवले चारपटक विश्वासको मत पाउनुभएको थियो तर पाँचौँ पटक विश्वास पाउनु भएन । योसँगै जसपा नेपालले मधेश प्रदेशमा पहिलो पटक सत्ता गुमाएको छ । 

मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढलेपछि अब यहाँ केन्द्रीय सत्ता समीकरणले सरकार बनाउने प्रयास सुरु गरेको छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्तिलगायत पार्टीले यहाँ जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । 

प्रादेशिक संरचना लागू भएपश्चात् विसं २०७४ मा भएको पहिलो निर्वाचनपछि यहाँ लगातार जसपा नेपालले नेतृत्व गरेको थियो ।  पहिलो निर्वाचनपछि तत्कालीन प्रदेश नं २ (हालको मधेस प्रदेश) मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपाल (हालको जनता समाजवादी पार्टी नेपाल) को सरकार बन्यो । तत्कालीन प्रदेशसभा संसदीय दलका नेता लालबाबु राउतले सत्ता गठबन्धन र राजनीतिक दलमा जस्तो परिवर्तन आएपनि पूरा कार्यकाल नेतृत्व गरेका थिए । 

यसपछि २०७९ मङ्सिर ४ गते दोस्रो निर्वाचनपश्चात पनि जसपा नेपालकै नेतृत्वमा सरकारको गठन भयो । मुख्यमन्त्रीका रूपमा जसपा नेपालका नेता सरोजकुमार यादवले नेतृत्व सम्हाले । उनले गठबन्धन र दलमा फेरबदल हुँदा पनि चार पटक विश्वासको मत पाएका थिए तर यस पटक भने सत्ता गुमाउनुपर्‍यो । योसँगै मधेश प्रदेशमा तत्कालका लागि करिब साढे छ वर्ष अर्थात् ७८ महिनापछि जसपा नेपालले मधेश प्रदेशको सत्ता गुमाएको छ । 

अब यहाँ पनि अरु प्रदेशमा जस्तै राजनीतिक अस्थिरता सुरु भएको छ । अरु प्रदेशमा केन्द्रीय सत्तासमीकरण फेरबदल भए पनि मधेशमा आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्राथमिकतामा राख्ने उपेन्द्र यादव अहिले केन्द्रदेखि प्रदेशसम्म सरकार बाहिर हुनुपरेको छ । जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले पार्टीका सात सङ्घीय सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रदेखि मधेश प्रदेशमा सत्ता गुमाउनु परेको हो । 

यद्दपि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्दासम्म यहाँ आफूबाहेकको सरकार बनाउन नदिने पक्षमा जसपाले भरमग्दूर प्रयास गर्ने सो पार्टीका नेताहरू बताउँछन् । बुधबार प्रस्तावको विपक्षमा पनि सरकार बनाउन आवश्यक ५४ मत नपुगेपछि यो सम्भावना जिवितै रहेको जसपा नेताहरूको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ