arrow

क्षत्रपाटी अस्पतालको नयाँ भवनको नक्सापास गैरकानूनी, अध्यक्ष भन्छन्ः  बालेनलाई पनि थाहा छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
chhatrapati-hospital-81-2-2.jpg

काठमाडौँ । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणमा कैफियत भेटिएको छ । क्षत्रपाटी चोकको झण्डै १० आना क्षेत्रफलमा भवनको अन्डरग्राउण्ड नक्सापास भन्दा फरक डिजाइनमा भएको पाइएको हो । 

चिकित्सालयको भवनका लागि अन्डरग्राउण्ड १ तला र माथि ८ तलाको संरचनाको लागि नक्सा पास गरिएको थियो । तर निर्माण गर्दा अन्डरग्राउण्डमा २ तला बनाइएको छ, जुन मापदण्ड विपरित हो । 

काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी घर भवन बनाउन वा नक्सापास भएको भन्दा फरक संरचना बनाउन नपाइने व्यवस्था गरेको छ । त्यतिमात्रै नभएर नक्सापासमा प्रयोजन उल्लेख भएको भन्दा फरक प्रयोजनमा लगाउनसमेत पाइँदैन । त्यस्तो भएको पाइएमा महानगरपालिकाले भवन भत्काउने आदेशसमेत दिन सक्छ । 

तर महानगरपालिकाकै ५ करोड रुपैयाँ अनुदानमा बनेको उक्त भवन निर्माणमा महानगरपालिकाकै मापदण्ड र कार्यविधिलाई बेवास्ता गर्दै अस्पतालले दुई तले अन्डरग्राउण्ड बनाएको हो । 

अस्पतालका अध्यक्ष मनोजमान श्रेष्ठ दोस्रो तल्ला अन्डरग्राउण्डको नक्सा पास नभएको स्वीकार गर्छन् । भवनसम्बन्धी मापदण्डका कारण दोस्रो तल्लाको अन्डरग्राउण्डको नक्सा पास हुने अवस्था नरहेको उनको भनाइ छ ।

 उक्त भवनको निरीक्षण काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले नै गरेको र यो कुरा महानगरपालिकालाईसमेत जानकारी भएको उनी बताउँछन् । 

‘एक तला भन्दा बढी अन्डरग्राउण्डको नक्सा पास गर्न नमिल्ने भएकाले नगरिएको हो । तर सेवाग्राहीको चाप धेरै हुने भएकोले पार्किङ व्यवस्थापन गर्न तल्लो तला बनाइएको हो’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘मेयरसाबले पनि यो भवनको निरीक्षण गर्नुभएको छ । हामीले यो बारेका उहाँहरुलाई पनि अवगत गराएका छौँ, उहाँहरुलाई यो कुरा थाहा छ ।’

पछिल्लो समय एकपछि अर्को काण्ड बाहिर आइरहँदा क्षत्रपाटी अस्पतालको यो पछिल्लो कैफियत बाहिरिएको हो । 

सीटी स्क्यान मेशिन प्रकरणमा एउटा मात्रै कम्पनी योग्य हुने गरी स्पेसिफिकेसन तयार गरेको, बाटो नै नभएको ठाउँमा मूल्यांकनभन्दा दशौँ गुणा बढी महँगोमा जग्गा लिएको, महानगरकै अनुदानमा बनेको इमर्जेन्सी भवनको समेत नक्सापास नगरिएको घटना एकपछि अर्को बाहिरिँदै गएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ