arrow

केपी ओली भन्छन् – अस्थिरतामा रमाउनु राम्रो होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
kp-oli-81-2-25.jpg

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताएका छन् । शुक्रबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नु राम्रो हुने बताए ।

“सात प्रदेश र केन्द्रमा कसैको पनि बहुमत छैन, यसले अस्थिरता जन्माउँछ । यस स्थितिमा कोही पनि रमाउने र खुसी हुने कुरा छैन”, उनले भने,“संवैधानिक र कानूनी व्यवस्थाका कारण कोही कसैको पनि बहुमत आउने स्थिति छैन, यसर्थ राष्ट्रिय दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।”

राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए । 

उनले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन दिइँदैन भने । “ अहिलेको समीकरण बनाउन र विश्वासको मत नदिने योजनामा केही दलहरु थिए तर त्यो सफल भएन । यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन, त्यसैले समीकरण भत्किन दिइँदैन”, अध्यक्ष ओलीको भनाइ थियो । 

यसैगरी उनले आफ्नो पार्टीले सरकारले ल्याएको बजेट राम्रो हुनुपर्छ भन्ने कुरा राखेको र यस्तो भन्नु नराम्रो नभएको बताए । फरक प्रसङ्गमा कुरा गर्दै उनले भारतका प्रधानमन्त्रीको शपथ ग्रहणमा नेपालका प्रधानमन्त्रीहरू जाने पुरानो परम्परा रहेकाले वर्तमान प्रधानमन्त्री त्यहाँ जानुलाई अन्यथा लिन नहुने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ