arrow

‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
sudan-kiranti-dharan-rss.jpg
तस्बिर-फाइल

काठमाडौँ । प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका छन् ।

किरात राई यायोक्खा काठमाडौँद्वारा टुँडिखेलमा आयोजित उभौली साकेला सिली नाच प्रदर्शनमा किरातीले सरकार र राजनीतिक नेतृत्वले राष्ट्रियताको सुदृढीकरणका लागि सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिए । 

“उभौलीमा किरातीहरूले नयाँ कृषि कर्मको थालनी गर्छन् । आजको युगमा हामीले नयाँ सोच र सिर्जनाको पनि थालनी गर्नुपर्छ”, उनले भने, “नेपालको संविधानमा लेखिएका मौलिक हकहरू व्यवहारमा लागू भएको देख्न पाउने दिनमा मात्र नागरिकहरू खुसी हुनेछन्, नागरिक खुसी भए देश बचाउनका निम्ति राष्ट्रभाव बलियो हुन्छ ।” 

सांसद किरातीले संविधानअनुसार आवश्यक ऐन, कानुन र नियमावली बनाएर तत्काल कार्यान्वयनको आवश्यकता औँल्याए । 

किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले उभौलीको शुभकामना व्यक्त गर्दै सांस्कृतिक पहिचानको अभियानलाई सशक्त बनाउन आह्वान गरे । 

उनले भने, “नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता उल्लेख गरिएको छ तर अहिले राजनीतिकर्मीहरूले नै यसलाई साम्प्रदायिक र जातीय कुरा हो, यसले विध्वंश निम्त्याउने छजस्ता भाष्य निर्माण गरिरहेका छन्, यो राम्रो होइन ।”

प्रकृति पुजारी किरात समुदायको  चाड उभौैली देशभर हर्षोल्लासका साथ मनाइँदैछ । यस चाडमा किरातीहरूले एकापसमा भेला भई सङ्गठितरूपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन् ।

किरातहरूको धार्मिक पुस्तक ‘मुन्धुम’अनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ । खेती किसानी गर्नका लागि मनाइने चाड उभौली हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ