arrow

गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धको जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
hit-bahadur-tamang-minister-paryatan.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राखेका छन् ।

अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राखेका हुन् । 

“हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको छ तर अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिन्छ”, उनले भने ।

यसका लागि नागरिक उड्ययन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०७८ को नियम पाँच दशमलव दुई बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिए ।

यसरी निजी विमान कम्पनीलाई पनि प्रतिस्पर्धा गराएर सेवा सुरु गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडान बढाउन सकिने उनले विश्वास व्यक्त गरे ।

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नु पर्ने, व्यवसायीलाई उत्साहित बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले अब यसमा सरकारले काम गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ