arrow

प्रचण्ड मोदीको शपथ समारोहमा, रात्रिभोज दिइन् मुर्मूले, आज मुर्मूसँग भेटघाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
prachanda-hasina-moitzu.jpg

काठमाडौँ । भारतीय राष्ट्रपति द्रोपदी मुर्मूले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा गएराति रात्रिभोजको आयोजना गरेकी छिन् । 

राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मूले  रात्रिभोजको आयोजना गरेकी परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले जानकारी दिइन् । 

रात्रिभोजमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित थिए । 

रात्रिभोजका अवसरमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी पनि भएको जनाइएको छ ।

रात्रिभोजमा आइतबारै पद तथा गोपनीयताको सपथ लिएका भारतका संघीय मन्त्री एवं राज्यमन्त्रीहरु, भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासाले सोमबार विहान चियापानको आयोजना गर्ने कार्यक्रम छ । साथै ,बिहान ११ बजे प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुर्मूसँग भेटघाट गर्ने जनाइएको छ ।  

प्रधानमन्त्री दाहाल उक्त सपथ ग्रहण समारोहमा सहभागी हुन हिजो दिउँसो नयाँदिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । 

प्रधानमन्त्री दाहाल आजै स्वदेश फर्कने कार्यक्रम छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ