arrow

श्रृंखलाबद्ध चोरी गर्ने दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
nabin-nepali-subash thapa-magar.jpg

पोखरा । एक करोड भन्दा बढी मूल्यका सामान चोरी गर्ने दुई युवक प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखा घर भई हाल पोखरा-४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर छन् ।

उनीहरु यसअघि विभिन्न आपराधिक क्रियाकलाप पनि संलग्न रहँदै आएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । साथै उनीहरुले पाेखरामै श्रृंखलाबद्ध चोरी गरेका थिए ।

उनीहरुले पछिल्लो समय यही जेठ ११ गते राति पोखरा १७ घारीपाटनस्थित कृष्णजी पौडेलको घरबाट सुनका गरगहना ४२ तोला, मोवाइल, ल्यापटप, क्यामेराका साथै नगद तीन लाख ८० हजार रुपैयाँ चोरी गरेका थिए ।

झण्डै एक करोड बढीको धनमाल चोरी भएको सूचना पाएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गर्दै जाँदा नेपाली र मगर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट सुनका विभिन्न गरगहना २४ तोला ८४ लाल, विभिन्न कम्पनीका मोबाईल २२ थान, विभिन्न कम्पनीका क्यामरा ९ थान, विभिन्न कम्पनीका ल्यापटप १५ थान, टिभी दुई थान, विभिन्न किसिमका भाँडा वर्तन ४६ थान, कफी बनाउने मेसिन २ थान, विभिन्न कम्पनीका घडी ११ थान, ड्रोन क्यामरा दुई थान, रेडियो सेट वाकीटकी दुई थानका साथै फलामको रड, पेन्चिस, हेक्सा ब्लेड, पिलास, तार काट्ने कटर, फलामको कुटो लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

साथै उनीहरुको साथबाट नगद भने एघार हजार पाँच सय ६८ रुपैयाँमात्र बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले विगत केही समययता चोरी भएका आफ्नो घर पसलमा पीडित तथा निवेदकलाई चोरी भएका कुनै समानहरु बरामदीमा रहेको भएमा उल्लेखित सामानहरु पहिचान गरी कानूनबमोजिम कारवाहीमा सहयोग गर्न हुन अनुरोध गरिएको छ ।

यस भन्दा अघि पोखराका विभिन्न स्थानमा चोरी घटनामा निजहरुको संलग्नता

-मिति २०८१/०१/१२ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.०३ नदिपुर गण्डकी बोडि बिल्डिङ अगाडी रहेको बेथेस्टा ईन्टरनेशनल ल्याङवेज सेन्टर प्रा.लि.बाट १६ थान ल्यापटप, सोनी तथा क्यानन कम्पनीका ल्यापटपहरु चोरी गरेको ।

-मिति २०८१/०१/१६ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. ०८ जाल्पारोड स्थितमा रहेको मनिका शाही गुरुङको बिन्स एण्ड बेरिज क्याफेबाट कफी बनाउने ठुलो मेसिन थान १ र ग्रयाण्डल थान १ चोरी भएकोमा दुबै सामान बरामद भएको ।

-मिति २०८१/०१/२९ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.२७ खरानीफाँट स्थित प्रतिभा नेपालीको घर कोठाबाट DJI MAVIC लेखेको ड्रोन क्यामरा थान १, क्यानन कम्पनीको DSLR क्यामरा थान १, लेनेभो कम्पनीको ल्पापटप थान १, विभिन्न सुनका गरगहनाहरु चोरी भएकोमा ड्रोन क्यामरा थान १, DSLR क्यामरा थान १, ल्पापटप थान १ बरामद भएको ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ