arrow

पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
prithivichowk-pokhara.jpg

पोखरा । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ । गत साउनदेखि पृथ्वीचोक-सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लङ्घन भएको हो ।

पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो ।

पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो । लामो दूरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छुट्न थालेका थिए ।

नगर बसलगायत छोटो दुरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे । पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो । तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ ।

काठमाडौँलगायत लामो दूरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन् । बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ ।

माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ ।

पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ ।

बसपार्क, होटल, वित्तिय संस्था, अस्पताल तरकारी बजार, मासु पसललगायत व्यवसाय तथा सरकारी सेवा दिने यातायात व्यवस्था कार्यालयलगायत अड्डा पनि सोही क्षेत्रमा रहेकाले पृथ्वीचोकमा मानिसको भीडभाड भइरहन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताए ।

“पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ”, उनले भने, “सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयवासीको साथ चाहिन्छ ।”

सडक फराकिलो र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले सो क्षेत्रमा रहेका अस्थायी संरचनासमेत हटाएको थियो ।

जीर्ण अवस्थामा रहेको बसपार्कको मर्मतसुधारको काम महानगर र प्रदेश सरकारले मिलेर गरेका थिए ।

यातायात व्यवसायीहरुले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् ।

पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पखाईमा छ । बसपार्क बनाउन विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदैँ गएको छ ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा स्तरीय बसपार्क बन्नुपर्ने माग पहिलेदेखि नै हुँदै आएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अनुसार पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ ।

बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको छ ।

बसपार्क व्यवस्थित नहुँदा गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि सडक किनारमा छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ