पोखरा । पृथ्वी राजमार्गअन्तर्गत निर्माणाधीन पोखरा-मुग्लिन (पश्चिम खण्ड) को भत्केको चौकीदेखि कोत्रेसम्मको राजमार्गको दायाँबायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भइरहँदा शाखा बाटा बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा स्थानीयवासी एवं सरोकारवाला निकायको प्रतिनिधिसहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिंक रोडलगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका हुन् ।
तल्लो गगनगौंडा बजार व्यवस्थापन समिति अध्यक्ष भुवानीप्रसाद पौडेलले भत्केको चौकी-कोत्रे खण्डमा तल्लो गगनगौंडालगायतका क्षेत्रमा बजारीकरण बढिरहेपनि राजमार्ग निर्माण भइरहँदा शाखा बाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताए ।
विद्यमान समस्या समाधानका लागि सहयोग समिति गठन गरी त्यसमार्फत आवश्यक पहल अघि बढाउने भेलामा छलफल भएको उनले बताए ।
सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भइरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिनभित्रमा हटाउनका लागि सूचनासमेत जारी गरिने भएको उनले जानकारी गराए ।
गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले पृथ्वीराजमार्गको निर्माणाधीन सडक अन्यत्र छ लेनको भए पनि भत्केको चौकी-कोत्रे खण्डमा मात्रै चार लेन हुनुको कारणबारे प्रश्न गरे ।
तल्लो गगनगौंडा क्षेत्रमा बाटाको स्वरुप परिवर्तन भएर उचाई बढेको उल्लेख गर्दै उनले यसतर्फ स्थानीयले केही जानकारी पाउन नसकेको बताए ।
सडक निर्माण भइरहँदा शाखा बाटोतर्फ ध्यान नपुगेको र यस क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा अध्यननरत तीन हजार पाँच सय विद्यार्थीका साथै सर्वसाधारण बाटो काट्न पनि समस्यामा परिरहेको उनको भनाइ छ ।
जिल्ला भलिबल संघ कास्कीका उपाध्यक्ष शरणकुमार प्रधानले तल्लो गगनगौँडालगायतका क्षेत्रमा निर्माणाधीन सडककको उचाई धेरै बढ्दा राजमार्ग आसपासका स्थानीयवासी समस्यामा परेको बताए ।
राजमार्गसँग जोडिएका शाखा बाटो निर्माणतर्फ ध्यान नपुग्नुका साथै हाल भइरहेको नालाले वर्षातको पानीलाई थेग्न समस्या हुने उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा-३२ का अध्यक्ष किसान परियारले बाटाको स्वरुप परिवर्तनसँगै शाखा बाटो नहुँदा आवतजावतमा परिरहेको समस्याप्रति सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताए ।
पोखरा–मुग्लिन सडक निर्माण आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर नारायणप्रसाद पौडेलले भत्केको चौकी-कोत्रे सडकखण्डमा योजनामा डीपीआरमा शाखा बाटोको व्यवस्था नरहेको जानकारी गराउँदै यसका लागि स्थानीयवासीको पहल भएमा आफ्ना तर्फबाट सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताउँदै आवश्यक कुरालाई सबैको साथ सहयोग एवं संयुक्त प्रयासमा समाधान गर्न सकिने बताए ।
तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नमुना शान्ति मार्गका सचिव राजन खनालले गरेका थिए ।