arrow

भत्केको चौकीदेखि कोत्रेसम्म शाखा बाटो बनाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
kotre-pokhara-prithivi-rajmarga-rss.jpg
तस्बिर-फाइल

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत निर्माणाधीन पोखरा-मुग्लिन (पश्चिम खण्ड) को भत्केको चौकीदेखि कोत्रेसम्मको राजमार्गको दायाँबायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भइरहँदा शाखा बाटा बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा स्थानीयवासी एवं सरोकारवाला निकायको प्रतिनिधिसहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिंक रोडलगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका हुन् ।

तल्लो गगनगौंडा बजार व्यवस्थापन समिति अध्यक्ष भुवानीप्रसाद पौडेलले भत्केको चौकी-कोत्रे खण्डमा तल्लो गगनगौंडालगायतका क्षेत्रमा बजारीकरण बढिरहेपनि राजमार्ग निर्माण भइरहँदा शाखा बाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताए ।

विद्यमान समस्या समाधानका लागि सहयोग समिति गठन गरी त्यसमार्फत आवश्यक पहल अघि बढाउने भेलामा छलफल भएको उनले बताए ।

सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भइरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिनभित्रमा हटाउनका लागि सूचनासमेत जारी गरिने भएको उनले जानकारी गराए ।

गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले पृथ्वीराजमार्गको निर्माणाधीन सडक अन्यत्र छ लेनको भए पनि भत्केको चौकी-कोत्रे खण्डमा मात्रै चार लेन हुनुको कारणबारे प्रश्न गरे ।

तल्लो गगनगौंडा क्षेत्रमा बाटाको स्वरुप परिवर्तन भएर उचाई बढेको उल्लेख गर्दै उनले यसतर्फ स्थानीयले केही जानकारी पाउन नसकेको बताए ।

सडक निर्माण भइरहँदा शाखा बाटोतर्फ ध्यान नपुगेको र यस क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा अध्यननरत तीन हजार पाँच सय विद्यार्थीका साथै सर्वसाधारण बाटो काट्न पनि समस्यामा परिरहेको उनको भनाइ छ ।

जिल्ला भलिबल संघ कास्कीका उपाध्यक्ष शरणकुमार प्रधानले तल्लो गगनगौँडालगायतका क्षेत्रमा निर्माणाधीन सडककको उचाई धेरै बढ्दा राजमार्ग आसपासका स्थानीयवासी समस्यामा परेको बताए ।

राजमार्गसँग जोडिएका शाखा बाटो निर्माणतर्फ ध्यान नपुग्नुका साथै हाल भइरहेको नालाले वर्षातको पानीलाई थेग्न समस्या हुने उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी पोखरा-३२ का अध्यक्ष किसान परियारले बाटाको स्वरुप परिवर्तनसँगै शाखा बाटो नहुँदा आवतजावतमा परिरहेको समस्याप्रति सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताए ।

पोखरा–मुग्लिन सडक निर्माण आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर नारायणप्रसाद पौडेलले भत्केको चौकी-कोत्रे सडकखण्डमा योजनामा डीपीआरमा शाखा बाटोको व्यवस्था नरहेको जानकारी गराउँदै यसका लागि स्थानीयवासीको पहल भएमा आफ्ना तर्फबाट सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताउँदै आवश्यक कुरालाई सबैको साथ सहयोग एवं संयुक्त प्रयासमा समाधान गर्न सकिने बताए ।

तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नमुना शान्ति मार्गका सचिव राजन खनालले गरेका थिए ।

कार्यक्रममा ज्ञानज्योति विद्याकुञ्जका प्राचार्य अर्जुप्रसाद अधिकारी, तल्लो गगनगौंडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत थापा, समाजसेवी खेम पुन, प्रकाशचन्द्र पागल, शिबबहादुर थापा, मोहनप्रताप खाँण, विष्णुबहादुर बस्नेत, हरिश्चन्द्र अधिकारी, मित्रबहादुर खत्री, भोजराज खनाल, टंकप्रसाद पौडेललगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ