arrow

गण्डकीको वार्षिक नीति तथा कार्यक्रम पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
Gandaki pradesh sabha bhawan.jpg

गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

प्रदेशसभाको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

यस अघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए । 

छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयनयोग्य हुनुपर्ने बताएका थिए । 

सरकारका काम कारवाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गरे । 

छलफलमा उठेका प्रश्नका जवाफ दिदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताए । 

नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसङ्ग नियतवत नछुटाइएको उल्लेख गर्दै उनले चालु वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राखे । 

पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै उनले लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारित समेत गरेको उल्लेख गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभै अन्तर्राष्ट्रिय विषय भएको बताउँदै उनले यहाँ अन्तरदेशीय उडानहरू हुनुपर्ने बताए । 

यसका लागि प्रदेशले मात्र नभइ सङ्घीय सरकारले चाहनुपर्ने बताउँदै उनले यहाँबाट जाने गन्तव्य रहेको त्यहाँको सरकारले पनि चाहनुपर्ने बताए । 
यसबारे पहलहरू भइरहेको र पोखराबाट बङ्गलादेशमा सिधा हवाइ उडानका विषयमा छलफल भइरहेको बताए । 

समाजवादलाई हेर्ने दृष्टिकोणहरू फरक-फरक रहेको बताउँदै उनले यो समय र स्थानअनुसार पनि फरक हुने उल्लेख गरे ।

प्रदेशसभाको अर्को बैठक शनिबार दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ