विराटनगर । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले दलहरुको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार विहान संचारकर्मीसँग कुरागर्दै सभापति देउवाले दलहरुको सहमतिमा संविधान संसोधन प्रस्ताव आएकाले सहमतिबाटै संविधान संशोधन प्रस्ताव पारित हुने वताए ।
उनले संशोधन प्रस्तावका विषयमा सहमति जुटाउन प्रतिपक्षीदल एमाले र संयुक्त मधेशी मोर्चासँग छलफल चलिरहेको बताए । सभापति देउवाले मधेशी मोर्चाको माग अनुसार नै संविधान संशोधन प्रस्ताव आएको प्रष्ट पनि पारे ।
संविधान संशोधनको प्रस्तावमा एमाले, मधेशीमोर्चा लगायत सबैदलले संसदमा भोट हाल्ने विश्वास देउवाको थियो । देउवाले संशोधन प्रस्ताव सांसदबाट फिर्ता नहुने पनि स्पष्ट पारे ।
संविधान संसोधनका कारण भइरहेको आन्दोलनका बारेमा देउवाले सिमाङ्कन मिलाउन खोज्दा पहाडमा आन्दोलन तथा त्यही विषयमा मधेशमा आन्दोलन गर्नु राम्रो कुरा नभएको भन्दै यो विषयमा आफुहरुले आन्दोलनकारीसँग वसेर छलफल र कुराकानी गर्ने बताए ।
देउवाले नेकपा एमाले तथा मधेशवादी दल पुरानै संरचना अनुसार निर्वाचनमा जान तयार रहेकाले दलहरुबीच सहमति भए पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन हुने पनि बताए ।
लामो समयसम्म स्थानीय निकायको निर्वाचन नहुँदा विकासको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेकाले सहमति जुटे पुरानै संरचना अनुसार भएपनि निर्वाचन गर्नुपर्ने उनको भनाई थियो ।
विराटनगर विमानस्थलमा नेपाली कांग्रेस मोरङले सभापती देउवालाई १४ किलोको फुलको माला लगाएका थिए ।
१४ वटा जिल्ला रहेको एक नम्वर प्रदेशमा जिल्ला विभाजन नगर्न सुझाव दिँदै १४ किलोको फुलको माला सभापति देउवालाई लगाई दिएको सांसद एंव नेपाली कांग्रेसका सभापति डिकवहादुर लिम्वुले बताए । सभापति देउवालाई अध्यक्ष लिम्वु तथा नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला तथा मोदराज घिमिरले संयुक्त रुपमा देउवालाई स्वागत गरेका थिए ।