arrow

राजनीतिक भविष्य संकटमा

राजेशमानले सक्कली कान्छी बनाउन खोजेको श्रीमतीलाई अदालतबाट नक्कली ठहर, किर्ते नागरिकता प्रकरणबाट उम्किन कठिन

logo
दीपेन्द्र चौहान, 
प्रकाशित २०८१ असार ४ मंगलबार
rajeshman-singh-mayor-birju.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहकी कान्छी श्रीमती भएको दाबी गर्दै पर्सा जिल्ला अदालतमा अंश दिलाई सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी रीता भट्टराईको मुद्दा अदालतले खारेज गरेपछि नगर प्रमुख सिंहको राजनीतिक भविष्यमाथि संकट उत्पन्न भएको छ। 

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति मोहम्मद शाहाबुदिनले मेयर सिंहले रीता भट्टराईकी छोरी रुबिनालाई आफ्नो नक्कली छोरी बनाई जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएर अध्ययनको लागि अस्ट्रेलिया पठाएको भनी जिल्ला प्रशासन कार्यालय पर्सामा पुस २४ गते सप्रमाण सहित निवेदन दिएका थिए। 

निवेदन माथि जिल्ला प्रशासनले कारबाहीको कुनै प्रक्रिया अगाडि नबढाएको अवस्थामा २०८० माघ १८ गते वीरगञ्जबाट प्रकाशित हुने अंकुश दैनिकको २५ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मेयर सिंहको मुद्दालाई सम्बोधन गर्दै पद र गठबन्धनमा भएकै कारण दोषी उम्कन नहुने भन्दै सरकारको ध्यानकर्षण गराएपछि गृह मन्त्रालयले उपसचिव पुष्कर राणा र अधिकृत परशुराम पोखरेलको टोली वीरगञ्ज पठाएको थियो । 

माघ २७ गते सो टोलीले मेयर सिंहलाई बोलाएर बयान लिएको थियो । बयानको दरम्यान मेयर सिंहले रीता भट्टराई आफ्नी कान्छी श्रीमती भएको स्वीकार गर्दै रुबिना श्रेष्ठ आफ्नी छोरी भएको दाबी गरेका थिए ।

सोको भोलिपल्ट २०८० माघ २८ गते रीता भट्टराईले पर्सा जिल्ला अदालतमा मेयर सिंहसँग अंश दिलाई सम्बन्ध विच्छेद गराउन मुद्दा दिएकी थिइन् । रीता भट्टराईले मुद्दा दर्ता गराउँदा पेश गरेको रुबिना श्रेष्ठको जन्मदर्ताको कागज नक्कली भएको प्रमाणसहित समाचार विभिन्न संचार माध्यमले प्रकाशमा ल्याए । 

रीताले पेश गरेको रुबिनाको जन्मदर्तामा तत्कालीन पञ्जाधिकारी भिखारी रायले आफ्नो दस्तखत नभएको बताइसकेका छन्। रायले जिल्ला प्रहरी कार्यालय पर्सामा पनि आफैँ उपस्थित भएर आफ्नो नाम उल्लेख भई जारी गरिएको जन्मदर्ता नक्कली भएको र आफ्नो फर्जी दस्तखत भएको साविती बयान दिएपछि डराएर पर्सा अदालतमा दायर मुद्दाका सन्दर्भमा दाबी पेश गर्न निवेदन र विपक्षी दुवै उपस्थित नभएपछि पर्सा जिल्ला अदालतका पाँच नम्बर बेन्चका न्यायाधीश प्रमेश पोखरेलले यही जेष्ठ २८ गते मुद्दा खारेज गरेको बताइन्छ ।

विपक्षमा रहँदा रवि लामिछानेले पनि मेयर राजेशमान सिंहविरूद्ध संसदमा बोलेका थिए । गृहमन्त्री भएको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी वकिल कार्यालयमार्फत आएको पत्रको आधारमा राजेशमान सिंह उपर मुद्दा दर्ता भए पनि अहिलेसम्म कारबाही प्रक्रिया अगाडि बढ्न सकेको छैन। 

जिल्ला प्रहरी कार्यालय पर्साले रुबिना श्रेष्ठको फाइल उपलब्ध गराउन अनेकौँ पटक पत्राचार गरेको भए पनि उपलब्ध गराइएको छैन। रुबिना श्रेष्ठको फाइल जिल्ला प्रशासन कार्यालयबाट हराएकाले तदारुकता साथ खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल बताउँछन् ।

यस सन्दर्भमा काठमाडौँका अधिवक्ता देवेन्द्र कोइरालासँग बुझ्दा उनले कान्छी श्रीमती भएको दाबी अदालतले नस्वीकारेपछि स्वतः राजेशमान सिंहले छोरी बनाई रुबिना श्रेष्ठलाई दिलाएको नागरिकता किर्ते भएको दाबी गरे । रीता भट्टराईले मेयर सिंह आफ्नो श्रीमान् भएको कुनै पनि प्रमाणित सरकारी कागज प्रस्तुत गरेकी छैनन् ।

अदालतको फिराद पत्रमा राजेशमान सिंहसँग २०५७-१०-२१ गते प्रेम विवाह गरेकी दाबी गर्ने रीता भट्टराईको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट २०६५-१-१२ मा जारी भएको वंशजको नागरिकतामा बुबा टीकाप्रसाद भट्टराई उल्लेख छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ