arrow

मुन्द्रा चढाउने डाँडामा आश्रयस्थल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
Myagdi-hamrakura.jpeg
तस्बिर-फाइल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडामा आश्रयस्थल निर्माण भएको छ ।

मुन्द्रा चढाउने डाडाँको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पर्यटकका लागि खाना र बास बस्न मिल्ने पाहुना आश्रयस्थल निर्माण गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको नौ लाख अनुदान र रु एक लाख जनश्रमदानबाट आश्रयस्थल निर्माण गरिएको अन्नपूर्ण-२ का वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।

 

“मुन्द्रा चढाउने डाडाँको नजिकै चुच्चेखर्क भन्ने ठाउँमा बनाएको आश्रयस्थलमा एक पटकमा ३० जनाले आश्रय लिन सक्छन,” उनले भने “काठै काठबाट बनाइएको कटेजलाई टिनले छाइएको छ, भने हिउँदयाममा हुरी र हिउँले नजमोस भनेर छानोलाई भिरालोे बनाइएको छ ।”

 

आश्रयस्थल भएपछि पाहुनालाई पाल टाँगेर, ओडार र रुखमुुनी कष्टप्रद रुपमा रात कटाउनुपर्ने समस्या हटेको छ । सुरक्षित र सहज रुपमा बास बस्न पाएका छन् । बस्तीदेखि टाढा रहेकाले मजदुरहरु तीन महिना जड्गलमै बसेर आश्रयस्थल बनाएको मुन्द्रा चढाउने पर्यटन क्षेत्र पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु फगामीले बताए ।

समुद्री सतहदेखि तीन हजार २०४ मिटरको उचाइमा रहेको मुन्द्रा चढाउने डाडाँबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय, जड्गलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

धौलागिरि, निलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत दर्जनभन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, गुराँससहितका वन जड्गलको मनमोहक दृष्य अवलोकन गर्न पाउनु मुन्द्रा चढाउने डाडाको विशेषता हो ।

मान्द्रेढुङ्गादेखि पाँच घण्टा पैदल हिँडेपछि मुन्द्रा चढाउने डाँडामा पुगिन्छ । यो बाटो भएर धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ । सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले मुन्द्रा चढाउने डाडाँलाई नयाँ गन्तव्यको रुपमा विकास गर्न पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।

गाउँपालिकाले यसअघि मान्द्रेढुङ्गा-भूमेथान हुँदै मुन्द्रा चढाउने डाँडासम्म जोड्ने २ किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरेको थियो । अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी चिनेर तथा तेर्सो ठाउँमा माटो खनेर पदमार्ग बनाएपछि लडेर दुर्घटन हुने, बाटो अलमलिएर हराउने समस्या हटेको छ ।

उक्त क्षेत्रमा खानेपानी, शौचालाई निर्माणका साथै पदमार्ग अन्तरगत ठाउँ ठाउँमा पर्यटन सूचना बोर्डसमेत राख्ने गरी आगामी वर्षको योजना सञ्चालन गरिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ