arrow

संविधानले प्रदेशलाई राज्यसरह अधिकार दिएको छ : गौतम

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
bamdev-gautem.jpg.jpeg
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपालको संविधानले प्रदेशलाई राज्यसरह अधिकार दिएको बताएका छन् । अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालको संवैधानिक कानुन’ र अधिवक्ता विजया गौतमद्वारा लिखित ‘नेपालका संविधान असफलताका कारण  दोष कसको ?’ नामक पुस्तक विमोचन गर्न यहाँ शुक्रबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री गौतमले भने, “सम्पूर्ण जाति, भाषाभाषी, क्षेत्र, वर्गको भावनालाई समेटेर नेपालको संविधान जारी भएको छ, त्यति मात्र हैन, सबै प्रदेशलाई राज्यसरह अधिकार दिइएको छ ।” 
 
नेपालको संविधान सङ्घीयताको आधार लिएर आएको हुँदा द्वन्द्व बोकेर आएको स्वीकार गर्दै उनले नेपाल धेरै पहिलादेखि नै सङ्घीयताकै ढाँचामा अघि बढिरहेको पनि बताए  । उपाध्यक्ष गौतमले विश्वमा आएका जति संविधान सबै संशोधनीय छन् भन्दै नेपालमा पनि राजनीतिक परिवर्तनसँगै संविधान परिवर्तन हुँदै सातौँ संविधानका रुपमा आएको स्पष्ट गरे। 
 
कार्यक्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, विश्वकान्त मैनाली र शम्भु थापा, प्रा डा सूर्य ढुङ्गेल र सहप्राध्यापक गणेशदत्त भट्टले संविधानको विरोध गर्नुभन्दा पनि कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए । 
 
पुस्तकका लेखक डा ज्ञवालीले संविधानवादको आँखाबाट संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पुस्तकले पछिल्लो संविधानको विशेषतासहित विश्लेषणसमेत समेटेको जिकिर गरे । डा ज्ञवालीका यसअघि ‘नेपालको संवैधानिक कानुन’सम्बन्धी दुई पुस्तक प्रकाशन भइसकेका छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ