arrow

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ थापा पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
arjun-bahadur-thapa-nthmc.jpg

पोखरा । नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहेका तनहुँका अर्जुनबहादुर थापाले आफ्ना अनुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीलाई सुनाएका छन् ।

चार दशकदेखि सेफ पेसामा आवद्ध उनले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याएका छन् नै उनकाे सफलता र अनुभव यतिखेर नेपालमा होटेल व्यवस्थापनका कक्षा पढ्दै गरेका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् ।

नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य एवं हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत रहेका उनले शुक्रबार पोखराको छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजमा आफ्ना अनुभव  विद्यार्थी माँझ सुनाएका थिए ।

होटेल म्यानेजमेन्टको कक्षा लिइरहेका विद्यार्थीका लागि महत्वपूर्ण अवसर रहेको उल्लेख गर्दै उनले उच्च मनोबलका साथ आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गरे ।

अध्ययनरत विषयमा दक्ष बन्न सकेमा अवसरमा कमी नहुने बताउँदै उनले आफू हाल अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा हाल उत्कृष्ट पाँच सेफमा परी अब उत्कृष्ट तीनको लागि प्रतिस्पर्धामा रहेको जानकारी गराए । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो ।

यस प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।

झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट हुदै हाल पाँचौं उत्कृष्टमा पर्न सफल भएको सुनाउँदै उनले खानाका पारखीको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताए ।

नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले उत्कृष्ट पाँचबाट तीन हुँदै एकमा पुग्नका लागि आँफूूलाई अझै धेरै भोट र हौसला जरुरी रहेको बताए । थापालाई उत्कृष्ट तीनका लागि अब चार दिन जो कोहीले प्रत्येक २४ घण्टामा अनलाइनमार्फत एक पटक फ्रि भोटिङ गर्न पाउनेछन् ।

विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा प्रतियोगितामा विजयी बनेमा २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिनेछन् । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर पाउनेछन् ।

बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खानाहरूमा समय बिताइसकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि प्राप्त गरिसकेका छन् ।

थापालाई नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेज छिनेडाँडामा स्वागत गर्दै क्याम्पस प्रमुख प्रकाश रेग्मीले उनका अनुभव र भोगाई अध्ययन गर्दै गरेका विद्यार्थीका लागि प्रेरक रहेको बताए ।

कलेजको ११ र १२ कक्षाका साथै स्नातक तहमा आठ सय विद्यार्थीलाई होटेल व्यवस्थापनको अध्ययन अध्यापन गराउँदै आएको क्याम्पसमा विविए, विविए-विआईका कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

स्थापनाको २५औं वर्ष मनाउँदै गरेको क्याम्पसबाट हालसम्म उत्पादित जनशक्ति विश्वका ४८ वटा राष्ट्रमा पुुगेको र कोही पनि बेराजगार नरहेको बताए ।

कुल २६ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न पूर्वाधार एवं प्रयोगशालासहितको क्याम्पसमा अध्ययन गरेका विद्यार्थीका लागि अमेरिका, कतार, थाइल्याण्ड, कुवेत लगायत १० वटा राष्ट्रका तारे होटेलमा इन्टर्नसिप गर्न पाउने र उक्त अवसरमा सिक्दै कमाउँदै गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ