arrow

कांग्रेसमा योगदान दिएका नन्दप्रसाद जस्ता पात्रहरू गाउँगाउँबाट खोज्ने छौँ - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
nandaprasad-shiwakoti-book-page.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इतिहासमा रहेको, सम्झनुपर्ने तर नसम्झिरहेको कर्मयोगी नन्दप्रसाद शिवाकोटी जस्ता पात्रहरू खोजी गर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ स्मृति ग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै नन्दप्रसाद जस्ता योगदान पुर्‍याएका व्यक्तिको खोजी गर्नुपर्ने बताए । 

महामन्त्री थापालेले थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बदनाम भइरहेको समेत बताए । सतपात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए । उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए । 

कर्मयोगी नन्दप्रसाद शिवाकोटीको योगदानको चर्चा गर्दै महामन्त्री थापालेले नेपाली कांग्रेसमा योगदान दिएका पात्रहरूलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए । महामन्त्री थापाले भने, ‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएको जस्तो भएको छ । त्यो मिसन हराएको जस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ । अरू राजनीतिक दलले आफ्नो ठाउँबाट प्रयास गर्नुहोला, हामीले आफ्नो ठाउँबाट प्रयास गर्नेछौँ । हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरू कर्मयोगी नन्दप्रसाद शिवाकोटीलाई खोजी खोजिकन ल्याउनुपर्छ । नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ । किन पनि भने कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन । कांग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा कांग्रेस भित्रको फोहोर थोरै छ । कांग्रेस भित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ