arrow

प्रदेश स्वास्थ्य नीति छिट्टै ल्याउँछौँ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
surendra-raj-panday-gandaki-cm.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधि व्यवसाय मानव स्वास्थ्यसँग जोडिएकाले यस क्षेत्रका व्यवसायी थप जिम्मेवार र संवेदनशील हुनुपर्ने बताएका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशन एवं तेस्रो साधारणसभालाई सोमबार पोखरामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

“नेपालका दुर्गम क्षेत्रमा अझै पनि नागरिकको प्राथमिक उपचार तथा औषधि व्यवसायीद्वारा नै हुने गरेकाले यस क्षेत्रका व्यवसायी थप जिम्मेवार हुन जरुरी छ”, उनले भने, “एक दुई व्यवसायीको गल्तीका कारण सिङ्गो औषधि व्यवसाय बदनाम बन्नु हुँदैन ।”

गण्डकी प्रदेश सरकार अस्थिर भएकाले स्वास्थ्यसम्बन्धी नीति बनाउन ढिलाइ भएको बताउँदै मुख्यमन्त्री पाण्डेले अब चाँडै सोसम्बन्धी व्यवस्था गरिने बताए ।

नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आम उपभोक्तामा गुणस्तरीय औषधिको पहुँच पुर्याउन आवश्यक भएको बताउँदै उनले कानुनविपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने तयारीमा विभाग रहेको बताए ।

“औषधि व्यवस्था विभागले देशैभरि अनुगमन गरी कानुनविपरीत व्यवसाय सञ्चालन गर्नेलाई कारबाही गर्ने तयारीमा छौँ । अनुगमन कार्यमा व्यवसायीको सहयोग आवश्यक छ”, उनले भने ।

नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले अन्य वस्तुको तुलनामा औषधि व्यवसाय पृथक र संवेदनशील भएकाले आत्मअनुशासनमा रहेर कारोबार गर्न व्यवसायीलाई आग्रह गरे ।

नेपाल औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डे, उपाध्यक्ष शिवबहादुर केसीलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

त्यसअवसरमा औषधि व्यवसायी दण्डपाणि शर्मालाई सम्मान गर्नुका साथै संस्थाद्वारा प्रकाशित गण्डकी औषधि दर्पण विमोचन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ