arrow

एसईईको नतिजा सार्वजनिक

४७.८६ प्रतिशत मात्रै उत्तीर्ण, यी विद्यार्थीले पूरक परीक्षा दिन पाउने [भिडियो]

५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण, २२१ जना परीक्षार्थीको परीक्षा रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
see-result-2081.jpg

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जीपीए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । 

नतिजा सार्वजनिकका क्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले २२१ जना परीक्षार्थीको परीक्षा रद्द भएको बताए । उनकाअनुसार नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ जनाको एनजी आएको छ । बोर्डले यस पटक नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । 

जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ । अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । अध्यक्ष शर्माकाअनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । 

बोर्डका अनुसार ननग्रेडिङ(एनजी) हुने विद्यार्थीको सङ्ख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए । 

उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ । ग्रेड वृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हुनपर्नेछ ।

अध्यक्ष शर्माले दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ