arrow

एमाले आफ्नो खुट्टामा उभिन सक्ने हुनुपर्छ : उपमहासचिव ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
pradip-gyawali-uml-leader.jpg

पोखरा । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्याउने छुट नभएको बताएका छन् । एमाले पोखरा महानगरपालिका कमिटीले ७३औं मदन जयन्तीको अवसरमा शुक्रबार आयोजना गरेको विचार गोष्ठीमा उनले अबको निर्वाचनमार्फत एमाले एकल बहुमतका साथ आफ्नो खुट्टामा उभिनसक्ने हुनुपर्ने बताए ।

‘अब गल्ती दोहोर्याउने छुट छैन । अब हामी एक्लै कसैको पनि बैसाखी नटेकिकन मुलुकको नेतृत्व गर्न चाहन्छौँ । समेट्ने कुरा सबैको होला, हामी अरुलाई पनि समेटौँला, तर एमाले एक्लै आफ्नो खुट्टामा उभिनसक्ने बन्नुपर्छ’, उनले भने ।

एमालेले बलियो राष्ट्रिय शक्तिको निर्माण गर्ने संकल्प गरेकोले जननेता मदन कुमार भण्डारीलाई सम्झँदै त्यो संकल्प पूरा गर्नका निम्ति सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘एमाले आफ्नै असमझ्दारीका कारण आफ्नै खुट्टामा अल्झिएर धेरैं ठाउँमा लडेको छ, यो स्थितिलाई अन्त्य गर्नुपर्छ’, उनले भने ।

विगतमा पार्टीमा चुनौतीको सामना गर्न खोज्नेको जमात बढी हुने गरेपनि पछिल्लो समय आफूले टिकट पाए ठीक नपाए असहयोग गर्ने, अन्तरघात गर्ने विपक्षीसँग मिल्ने जस्ता खालका काम हुने प्रवृत्ति देखा परेको उपमहासचिव ज्ञवालीको गुनासो थियो ।

पछिल्लो तीन वर्ष एमालेविरुद्ध घेरावन्दी भएपनि गएको फागुन २१ गतेदेखि त्यसलाई तोडेर एमाले राजनीतिको केन्द्रविन्दुमा आइपुगेको भन्दे अब आफ्नै खुट्टामा एकल बहुमतका साथ उभिने परिस्थिति निमार्णमा जुट्नुपर्नेमा जोड दिए । चुम्बक बलियो भयो भने फलामका कणहरु आफै खोज्दै-खोज्दै आइपुग्ने भन्दै उनले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको चुम्बकको रुपमा स्थापित गर्नुपर्ने बताए ।

‘सहकार्य विचार मिल्दा गरिएला । तर, भोलि नै पार्टी एकता हुन्छ की, भोलिनै वामपन्थी एकता हुन्छ की, भोलि नै हिजो जस्तो नेकपा बन्छकी, यो कुनैपनि अन्यौलमा नपरीकन आफ्नो पार्टीलाई बलियो बनाउँ’, उनको आग्रह थियो । वर्तमान समीकरण भत्काउन अनेक खालका प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने उनको ठोकुवा थियो ।

२०८४ को निर्वाचनसम्म यहीरुपमा रहेर संगठन विस्तार गर्दै राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको रुपमा अगाडि बढ्ने गरी एमालेले संकल्प गरेको उनले स्पष्ट पारे ।

‘त्यो निर्णायक शक्ति बन्ने भनेको खाली बहुमत पाउन कसैलाई प्रधानमन्त्री, कसैलाई मन्त्री बनाउन होइन, देश बदल्नका लागि हो । समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति हो’, उनले प्रष्ट्याए ।

एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जननेता मदनकुमार भण्डारीका विचारको अध्ययन गरेर सोही अनुसार आफ्नो कार्यशैलीमा सुधार गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

सबै एकताको सुत्रमा अगाडि बढेमात्र पार्टी लिएको लक्ष्य पूरा हुने उनको भनाइ थियो । त्यसका लागि जिम्मेवारीमा रहेको व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताए । ‘सिद्धान्त, संगठन, संर्घष र शैलीमा एकरुपता कायम गर्दै पार्टीको आन्तरिक एकतालाई अझै बलियो बनाउँदै जानुपर्नेछ’, उनले भने ।

नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नका लागि स्थानीय तहदेखि प्रदेश र संघमा बहुमत आवश्यक पर्ने भन्दै त्यसका लागि सबैजना एकढिक्का भएर अघि बढ्नुपर्ने बताए । समाजवादउन्मुख संविधान पूर्णरुपमा कार्यान्यवयन गर्नका लागि समेत एमालेको एकल बहुमत आवश्यक पर्ने उनको दावी थियो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले नियम कानूनको अधिनमा रहेर तथा नियमित पार्टीको सम्पर्कमा रहेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

‘म त जनप्रतिनिधि भए पाँच वर्षलाई ठीक छ, मैले किन पार्टीलाई वास्ता गर्नुपर्यो भन्न थालियो भने धागो चुँडिएको चंगा जस्तो हुन्छ, पार्टीसँग आवश्यकताको आधारमा नियमितरुपमा सम्पर्कमा रहनुपर्छ’, उनले भने ।

जनप्रतिनिधि शासक नभई सेवक भएकोले जनताप्रति उत्तरदायी बन्नुपर्ने स्थायी कमिटी सदस्य अधिकारीले बताए । ‘जनतालाई निराश बनाउने अधिकार जनप्रतिनिधिलाई छैन, मतदातालाई उत्साह, उर्जा थप्नुपर्यो’ अधिकारीले आग्रह गरे । संगठनमा प्रयोग गरिहेको लोकतान्त्रिकीकरणमा पुनरावलोकन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका कमिटी इन्चार्ज कृष्ण थापा, पोखरा महानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष दिलिप न्यौपाने, वर्तमान उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना र सचिव सुशील बस्नेतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ