arrow
ADVERTISEMENT

सर्वोच्चले सांसद पद थमौती गरिदिएपछि दोस्रो पटक मन्त्री भए देवकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
phanindra-devkota-81-316-mi.jpg

पोखरा । गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले दोस्रो पटक मन्त्री पदको शपथ लिएका छन् । सर्वोच्च अदालतले सांसद पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटा फेरि मन्त्री बन्न पाएका हुन् । 

उनलाई आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाए । गत जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो ।

नेसपाको सांसद भए पनि उनको संसदीय दल नेकपा (माओवादी केन्द्र) हो । किनकि उनले चुनावमा माओवादीकै चिन्ह लिएर चुनाव जितेका थिए । 

पटक पटक उनले माओवादीबाट आफू अलग हुन पाउनु पर्ने माग गर्दै आएका थिए । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलेसमेत उक्त माग गर्दै आएका थिए । 

उनले पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले कारबाही गरेको थियो । मन्त्री बनेको चार दिनमै जेठ ३२ गते उनले सांसद पद गुमाएका थिए ।

माओवादीको कारबाहीपछि देवकोटा सर्वोच्च पुगेका थिए । असार १० गते सर्वोच्चले उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । 

सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनलाई संसदमा जानसमेत माओवादीले अवरोध गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ