arrow

जनता प्राकृतिक विपत्तिमा पर्दा सरकार जिम्मेवार भएन : अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
khagraj-adhikari-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा परेका जनताका उद्धार र राहत वितरणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएका छन् ।

आइतबारको प्रदेश सभा बैठकमा बोल्दै अधिकारीले संसदमा सांसदले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको र सम्बोधन नगर्ने निष्प्राण सरकार संसदले परिकल्पना नगरेको अभिव्यक्ति दिए ।

उनले भने, ‘अविरल वर्षासँगै बाढी, पहिरो तथा डुबानका कारण कास्की, पर्वत, लमजुङ, स्याङ्जा, बागलुङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भएपनि त्यसलाई सम्बोधन गर्न सरकारले जिम्मेवारीपूर्वक काम गर्न सकेन ।’

‘सरकारको तर्फबाट राहत तथा उद्धारका काम धिमे गतिमा भइरहेका छन् । त्यतिमात्र होइन पुनःस्थापनाको समय भइसक्यो, सरकारको उपस्थिति देखिँदैन’ उनले थपे ।

तत्काल उद्धार तथा राहतका कार्यक्रममार्फत छिटो भन्दा छिटो पीडितको पीडामा मल्हम लगाउनुपर्नेमा उनले जोड दिए ।

नेता अधिकारीले लमजुङको क्व्होलासोथारलगायतका ठाउँमा तुरुन्त पुगेर सरकारको उपस्थिति देखाउन अनुरोध गरे ।

सांसदले सदनमा आवाज उठाउँदासमेत सरकार जवाफविहीन भएर बस्ने गरेको उनले आरोप लगाए ।

‘सरकार आफ्नो दायित्व पूरा नगरी दिन कटाउने काम नगरोस्, प्रदेश सभाको सक्रियता तथा गतिशीलतालाई निस्तेज नपारोस्’, अधिकारीले चेतावनी दिए ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा समेत थुप्रै कमि कमजोरी देखिएको उनले सुनाए ।

बजेट निर्माणमा सांसदको भूमिकालाई प्राथमिकता नदिएको उनको गुनासो गर्दै २३ वटा कार्यक्रम डुप्लिकेशन हुन पुगेको आरोप लगाए ।

‘बजेट निर्माणमा सासंदको भूमिका नभएर कोही अमूकको हुन्छ भने त्यो कुरा संशोधन हुनैपर्छ । कुनै पनि हालतमा त्यो कुरा दोहोरिन हुदैन’, उनले भने ।

संविधानले व्यवस्था गरेको संसद भएको र संसदले सांसदलाई दिएको अधिकार कमजोर बनाउने काम सरकारबाट किमार्थ हुन नहुने उनले बताए ।

‘सासंदका योजना माग्ने तर त्यो अनुसार नहुने काम भइरहेको छ । यसले न संसद बलियो हुन्छ, न सांसद बलिया हुन्छन्, न सरकार नै सरकार जस्तो हुन्छ । हामी संसदलाई बलियो बनाउँ । सांसदहरु बलियो बनाउँ’, उनको आग्रह थियो । बजेट बनाउँदा को-को हाबी भए, तिनको खोजी गर्नुपर्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ