arrow

पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जीप दुर्घटना : सातको निधन, आठ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
Accident-sign.jpg

लुम्बिनी । रोल्पामा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जीप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । 

दुर्घटनामा आठ जना घाइते भएका थिए । जीप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ ।
 
घाइते मध्ये छजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छजनाको पहिचान भएको छ भने एकजना बालिकाको पहिचान भएको छैन । 

दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का, परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी – ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशङ्का गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

घाइते आठजनामध्ये दुईजना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । गम्भीर अवस्थाका छजनालाई भने थप उपचारका लागि गएराति नै बुटवल ल्याइएको छ । 

सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जीप दुर्घटनामा परेको जनाइएको छ । चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जीप पछाडि सर्दै सडकबाट तल खसेको हुनसक्ने आशंका गरिएको छ । 

बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जीप दुर्घटनामा परेको थियो । जीपमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा जीपका चालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले जनाएको छ ।
तालाबाङ गाउँ शोक परेको छ । जीप दुर्घटनामा अधिकांश तालाबाङवासी परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ