arrow

करको दर होइन दायरा बढाऔँ : बराल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
prakash-baral-gandaki.jpg

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले प्रदेशलाई आत्मनिर्भर बनाउन करको दर होइन दायरा बढाउनुपर्नेमा जोड दिएका छन् ।

सरकारले छनोट गरेका योजनाले प्रतिफल दिनुपर्ने भन्दै उनले योजनाबाट प्रतिफल नआए प्रदेश आत्मनिर्भर बन्न नसक्ने स्पष्ट पारे । घाटाको बजेट प्रस्तुत गर्ने परम्परा अब अन्त्य हुनुपर्ने उनले बताए ।

सरकारका आर्थिक मामिला मन्त्री टकराज गुरुङले प्रस्ताव गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ माथिको छलफलमा सहभागी हुँदै यस्तो बताएका हुन् ।

सांसद बरालले सवारी कर संकलनका सम्बन्धमा सेवाग्राहीलाई समयमै कर तिर्ने जानकारी गराउन सके निकै प्रभावकारी हुने दावी गरे । उनले सुझावसहित भने, ‘विभिन्न कारणले कर तिर्न नसकेका सेवाग्राहीलाई शिष्ट ढंगले कर तिर्न आउन आग्रह गरे असाध्यै राम्रो हुन्छ ।’

पुम्दीकोट प्रदेश सरकारका लागि महत्वपूर्ण योगदान दिने गन्तव्य भएको भन्दै यसमा यस पटक बजेट नपर्नु बिडम्वना भएको बताए । उनले त्यहाँ गरेको लगानी पाँच वर्षमा फिर्ता हुने भन्दै यसमा बजेट काटिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘विगतमा निरन्तर बजेट परेको थियो । यस पटक काटियो । अर्थमन्त्रीलाई त्यो ठाउँको परिचय गराउनुपर्ने अवस्था छ । परिणाम दिने क्षेत्रमा लगानी गर्न सरकार गम्भीर बन्नुपर्छ ।’

पर्यटनको राजधानी आएका पर्यटकको बसाई लम्ब्याउने गन्तव्य पनि पुम्दीकोट भएको सांसद बरालले स्पष्ट पारे ।

पुम्दीकोटमा १३ करोडको लगानीमा ट्रसव्रिज बनाउने योजना भएको भन्दै उनले प्रश्न गरे, ‘माननीय अर्थमन्त्रीज्यू त्यहाँ गरेको लगानी पाँच वर्षमा रिटन गर्छ, तपाईंले त्यसमा बजेट पार्न किन कन्जुस्याइँ गर्नु भो ?’

नीति तथा कार्यक्रम पास गर्ने ठूलो कुरा नभएको भन्दै बरालले हरेक योजनामा लगानी गर्दा गम्भीरता आवश्यक रहेको बताए । सांसद बरालले ढोरपाटनलाई सिटी इन सिटीको रुपमा विकास गर्न सकिए पनि पर्यटकको बसाई लम्ब्याउन सकिने बताए ।

भविष्यको एक सय भन्दा वर्तमानको एक रुपैयाँ महत्वपूर्ण हुने भन्दै उनले कर संकलनका सम्बन्धमा गाउँगाउँमा पसल सञ्चालनमा रहेको तर सरकारबाट प्रवाह हुने सेवा सुविधाले व्यवसायीले पसल दर्ता गर्नै नचाहने अवस्था भइरहेको बताए ।

अंशवण्डासम्बन्धी करका विषयमा सरकारले गम्भीर भएर पुनर्विचार गर्नुपर्नेमा उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ