कञ्चनपुर । महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा.पूर्ण बहादुर चन्दलाई थुनेका छन् । अखिल क्रान्तिकारीले आईतबार सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुखलाई बिहान कार्यकक्षमै आधा घण्टा थुनेका हुन् ।
अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष बिरेन्द्रराज बिष्टले क्रान्तिकारीले उठान गरेका सम्स्या समाधान नगरेका कारण थुनेको बताए । क्रान्तिकारीले विद्यार्थीको हित र क्याम्पस सुधारका पक्षमा पटक पटक क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउदा समेत आफूहरुका माग सम्बोधन नभएकाले आफुहरु बाध्य भएर आन्दोलन गर्न लागेको उनको भनाई छ ।
विज्ञान क्याम्पसका प्रमुख डा. पूर्ण बहादुर चन्दले क्रान्तिकारीले उठान गरेका माग बारे आफू गम्भिर रहेको बताउदै, सम्बोधन हुने माग सम्बोधन गरेको बताए । ‘हामीले क्याम्पसका तर्फबाट लिखित रुपमै माग बुझायौँ ।’ उनले भने ‘जुन माग सम्बोधन गर्न सकिन्छ ।’ आर्थिक अभाव र दरबन्दी अभावका कारण क्याम्पसमा समस्या भएको बताउदै क्रान्तिकारीले उठान गरेका माग पुरा गर्न समस्या भएको उनको भनाई छ ।
स्नाकोत्तरमा शुल्क बृद्धि गर्न बाध्यता रहेको बताउदै क्याम्पस प्रमुख चन्दले दरबन्दी नदिदा समस्या भएको बताए । विज्ञानका स्थायी प्राध्यापकहरुले बाहिर पढाउने बारेमा आफुलाई केही जानकारी नभएको भन्दै उनले त्रि.वि.को ऐन अनुसार क्याम्पस सञ्चालकै समयमा बाहिर पढाए कार्बाही हुने प्रमुख चन्दले बताए ।
क्रान्तिकारी लगायत अन्य विद्यार्थी संगठनले उठाएका माग बारे मंसिर २२ गते बृहद् छलफल गरि सबैका माग सम्बोधन गर्न विज्ञान क्याम्पसले तयारी थाल्ने भएको छ । क्रान्तिकारीले भने विद्यार्थी र क्याम्पसका हितमा उठाएका माग सम्बोधन नगरि जस्तोजुसकै आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।