बागलुङ । परराष्ट्रमन्त्री प्रकाश शरण महतले नेकपा एमाले संविधान संसोधनको प्रस्तावलाई के भयो भनेर आत्तिनुपर्ने कुनै कारण नरहेको बताएका छन । बागलुङको बुर्तिबाङमा चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महतले यस अघि एमाले आफैले प्रस्ताव गरि पार्टी अध्यक्ष केपि ओलीले हस्ताक्षर गरेको प्रदेश सिमाङ्कनको खाका अनुसार नै सरकारले संविधान संसोधन प्रस्ताव दर्ता गरेको भन्दै अहिले एमालेले कुरा फेर्दा आफुहरु दंग परेको बताए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेको महतले मधेसमा रहेको असन्तुष्टिको कुनै न कुनै रुपमा सम्बोधन नगरे संविधान कार्यान्वयन हुन नसक्ने अवस्था रहेकाले मुलुकलाई अघि बढाउन सरकारले कम्तीमा सवैलाई मान्य हुने विचको बाटो खोजेको बताए ।
सवै कुरा आफैले भने जस्तो हुनुपर्ने अडानले देशमा संविधान कार्यान्वयन गरेर समृद्धिको बाटोमा जान नसकिने भन्दै उनले एमाले र मधेसवादी दल दुवैलाई संविधान संसोधनको पक्षमा उभिन आग्रह गरे ।
‘संविधान नबन्दै एमाले अध्यक्ष केपि ओलीले पनि मानेर हस्ताक्षर गरेको सिमाङ्कनमा मधेसीदलले पनि मान्छन् भने उनिहरुको माग सम्बोधन गरौँ भनेर सरकारले संसोधन प्रश्ताव दर्ता गरेको हो ।’, महतले भने, ‘सवैले भनेजस्तो कहिल्यै हुँदैन, मधेसका नागरिकको पनि मन राख्नुपर्छ ।’ मन्त्री महतले मधेशवादी दलले पनि यतिले हुँदैन हामी मान्दैनौँ हामीले भने जस्तै हुनुपर्छ भन्ने हठ छोडन जरुर रहेको बताए ।
उनले संविधान कार्यान्वयनका लागि जसरीपनि निर्वाचन गर्नुपर्ने भन्दै संघिय संरचनामा सहमती नभए पुरानै निर्वाचन क्षेत्रको संरचनामा भएपनि चुनाव गर्नुपर्ने तर्क गरे ।
उनले आफु परराष्ट्र मन्त्री भएपछि सवै देशसँग राम्रो सम्बन्ध बनाएर मुलुकलाई अघि बढाउन प्रयास गरेको बताए ।