arrow

मन्थली-खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
rameshhap-sadak.jpg

रामेछाप । मन्थली-खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ । मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ । 

विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको थियो । यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो ।

असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा समस्या भएको स्थानीय एवं निवर्तमान वडाअध्यक्ष नारायणदास श्रेष्ठले बताए ।

'म चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन छ, त्यसैकारण समस्या भयो । मुख्य चोक (देवकोटा चोक) मै यति धेरै कमसल काम भएपछि अन्य ठाउँको अवस्था के होला ?', उनले प्रश्न गरे । 

सडकका अन्य ठाउँमा पनि कालोपत्र उप्किएको छ । स्थानीय लालप्रसाद पोखरेलले लिखुतामाकोशी गाउँपालिका-६ को  खिम्ती  (तल्लो) बजारमा गरिएको कालोपत्रमा पनि उप्किन लागेको बताए । यहाँ १० मिटरभन्दा बढी सडकको कालोपत्र उप्किसकेको उनले जानकारी दिए । 

 

वडाका वडाअध्यक्ष शिवप्रसाद न्यौपानेले आवश्यक मापदण्ड पूरा गरी नगरी हिलो माटोमाथि नै कालोपत्र गरिएकाले चाँडै नै भत्किएको बताए । निर्माण कम्पनीलाई भत्किएका ठाउँमा फेरि कालोपत्र गर्न लगाइएको  छ ।  

अध्यक्ष न्यौपानेले भने, 'निर्माण व्यवसायीले सडक मर्मतमा गुणस्तरीय काम गरेन, हिलो माटोमाथि नै कालोपत्र गरिएपछि यस्तो समस्या भयो । काम गरिरहेकै बेला हामीले ध्यानाकर्षण गराएकै थियौँ, अटेर गरेपछि अहिले त्यसको परिणाम देखियो । १५ दिनमै कालोपत्र उप्किनुले चरम लापरवाही प्रष्ट भएको छ ।' 

सडक डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर सन्देशराज ढुङ्गेलले निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले समस्या भएको र आवश्यक परीक्षण गरी चाँडै मर्मतको काम गर्न लगाइने बताए ।  

'कालोपत्रको काम गुणस्तरीय र मापदण्डअनुसार नभएकाले यस्तो समस्या आयो, अब चाँडै नै आवश्यक कारबाही अगाडि बढाउँछौँ । व्यवसायीलाई पुनः आवश्यक मापदण्डसहित कालोपत्र गर्न लगाउने तयारी भइरहेको छ', इन्जिनियर ढुङ्गेलले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ