arrow

स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशील छ : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
bindukumar-thapa-minister-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

बागलुङ जिल्लालाई बुधबार पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उनले नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको उनले बताए ।

“प्रदेशवासीको स्वास्थ्यमा हामी गम्भीर छौँ । शहरका अस्पताल मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीलाईसमेत व्यवस्थित बनाउँदै लैजाने प्रयत्न हाम्रो छ”, उनले भने ।

मन्त्री थापाले बाल मृत्युदर र अपांगतालाई हटाउन खोपको आवश्यकता पर्ने हुँदा प्रदेशका बालबालिकालाई खोपको उचित व्यवस्थापन गरिएको बताए । स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

बागलुङ जिल्लाको धौलागिरी अस्पतालको स्तरोन्नति गर्दै दक्ष चिकित्सकद्वारा उपचार सेवा प्रवाह गर्ने कार्य भइरहेको उनले बताए ।

हाल ५० शैयाको स्वीकृति पाएको धौलागिरी अस्पताललाई १०० शैयाको स्वीकृतिका लागि ३५ रोपनी जग्गाको आवश्यकता पर्ने हुँदा जग्गा प्राप्तितर्फ लाग्न उनको अनुरोध छ । जग्गा प्राप्तिको समस्या टरेपछि अस्पतालले उक्त स्वीकृति पाउने उनले बताए ।

धौलागिरी अस्पतालका लागि मात्र ५ करोड ३१ लख ६८ हजार विनियोजन गरिएको उनले उल्लेख गरे ।

गण्डकी प्रदेशसभा सदस्य लिलबहादुर थापाले भौतिक विकाससँगै मानवीय विकासको आवश्यकता रहेको बताए । गुणस्तरीयतामा ध्यान दिँदै स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन सकिने उनले बताए ।

बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले स्थानीय निकायले पनि स्वास्थ्य क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा हेरेको बताए ।

जिल्ला समन्वय समिति बागलुङका सदस्य सचिव बाबुराम आचार्यले बागलुङ जिल्लामा २०२ खोप केन्द्रबाट सेवा प्रवाह गरिएको जानकारी गराए ।

उनले १० वटा स्थानीय तहलेसमेत पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताए । ५ वर्षसम्मका १३ हजार ५६ बालबालिकालाई पूर्ण खोप लगाइएको उनको भनाइ छ ।

जिल्ला खोप समन्वय समिति बागलुङ अध्यक्ष अमरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापा, सांसद दिपेन्द्रबहादुर थापा, डिल्लीराम सुवेदी, दिलमाया पौवी लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ