arrow

कुरा मात्रै जनताको; काठमाडौँमै मूल्यवृद्धि १२ प्रतिशत, जनता महंगीको मारमा

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
nepal-rastra-bank.jpg.jpeg
काठमाडौँ। तराई मधेसमा भइरहेको लगातारको बन्द हडताल तथा अघोषित नाकाबन्दीले आपूर्ति प्रणालीमा अवरोधका कारण काठमाडौँमा सबैभन्दा बढी मूल्यवृद्धि भएको देखिएको छ । 
 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिका बारेमा चालु आव २०७२/७३ को चार महिनाको तथ्याङ्कका आधारमा सबैभन्दा बढी काठमाडौँमा ११.८ प्रतिशतले मूल्यवृद्धि भएको छ । 
 
उक्त तथ्याङ्कका आधारमा पहाडमा ११.४ प्रतिशत, हिमालमा ९.६ प्रतिशत र तराईमा ९.१ प्रतिशतले मूल्यवृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता मूल्य सूचकाङ्कको वृद्धिदर काठमाडौँमा ७.१ प्रतिशत, पहाड र तराई दुवैमा ७.२ प्रतिशत रहेको थियो । 
 
त्यस्तै भूकम्पपछि शिथिल अवस्थामा रहेको पर्यटन क्षेत्र तराई क्षेत्रमा रहेको लगातारको बन्द हडताल र व्यापारिक मार्गमा भएको अवरोधले थप प्रभावित भएको छ । समीक्षा अवधिमा पर्यटकको आगमन न्यून हुनुका साथै आएका पर्यटकको नेपाल बसाइँको अवधिसमेत उल्लेख्य रुपमा घटेकाले होटलको क्षमता उपयोग न्यून हुँदै गएको बैंकले जनाएको छ । 
 
मुद्रास्फीति र तलब तथा ज्यालादर उपभोक्ता मुद्रास्फीति आव २०७२÷७३ को कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.२ प्रतिशत रहेको थियो । 
 
मुद्रास्फीति उच्च रहनुको आशन्न कारणमा दलहन तथा गेडागुडी, घ्यू तथा तेल र लत्ताकपडा तथा जुत्ता उपसमूहको मूल्यमा भएको उच्च वृद्धि रहेको तथ्याङ्कमा उल्लेख छ । यी उपसमूहमध्ये दलहन तथा गेडागुडीको मूल्य ४४.१ प्रतिशतले र घ्यू तथा तेलको मूल्य ४१.१ प्रतिशतले बढेको देखिन्छ । 
 
बैंकले तरलता व्यवस्थापन उच्च प्राथमिकताका साथ सञ्चालन गर्दै आएको भए तापनि आपूर्ति अवस्था सहज नहुँदासम्म मौद्रिक व्यवस्थापनबाट मात्र मुद्रास्फीति नियन्त्रण गर्न कठिन देखिएको जनाएको छ । 
 
चालु आवको चार महिनामा कुल वस्तु निर्यात २९.१ प्रतिशतले ह्रास आई रु २० अर्ब ९६ करोडमा सीमित भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले ह्रास आई रु २९ अर्ब ५५ करोड रहेको थियो । 
 
व्यापार नाकामा रहेको असहज अवस्थाले गर्दा समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेका कारण समग्र निर्यातमा कमी आएको हो । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात ३८.७ प्रतिशतले, चीनतर्फको निर्यात ६७.९ प्रतिशतले र अन्य मुलुकतर्पmको निर्यात ७.८ प्रतिशतले घटेको छ । 
 
समीक्षा अवधिमा कुल वस्तु आयात ३६.८ प्रतिशतले घटेर रु १६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.४ प्रतिशतले वृद्धि भई रु २५४ अर्ब ६६ करोड पुगेको थियो । 
 
कुल आयातमध्ये भारतबाट भएको आयात ४१.८ प्रतिशतले, चीनबाट भएको आयात २२.३ प्रतिशतले र अन्य मुलुकबाट भएको आयात ३१.१ प्रतिशतले घटेको छ । 
 
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले घटी रु १४० अर्ब चार करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २६.१ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः ४२.१ प्रतिशत, २०.६ प्रतिशत र ३६ प्रतिशतले घटेको छ । 
 
त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको सङ्ख्यामा पछिल्ला महिनामा कमी आएको देखिन्छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या चालु आवको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा २०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २८.८ प्रतिशतले बढेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ