arrow

सेती नदीको बाढी बस्ती पस्न थालेपछि सिगासका ६० घरपरिवारलाई सारियो सुरक्षित स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
seti-river-flood.jpg

बैतडी ।  सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । 

उनले भने, “सेती नदी गाउँ पस्ने खतरा बढेपछि  ढुङ्गाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् । अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताए ।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ । 

सेती नदीको बाढीले यहाँ बर्सेनि आतङ्क मच्चाउने गरेको छ । यसअघि  २०७८ कात्तिक  पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो । 

लगातार वर्षा भइरहेकाले  जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ