arrow

प्राकृतिक विपद्‌मा परी आठको मृत्यु, छ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
flood-ktm.jpg

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका जानकारी दिए । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ ।

 काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ