arrow

खेलाडीहरु पेरिस ओलम्पिकमा जानुअघि सदस्यसचिवको प्रशिक्षणबारे चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
paris-olympic-nepal-81-3-23.jpg

काठमाडौँ । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारीबारे चासो राखेका छन् । 

ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नुपर्ने कामका विषयमा छलफल गरेका हुन् । 

साउन ११ देखि २७ गतेसम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात जना खेलाडीहरुमध्ये नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरुसँग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमी हुन नदिने बताए । 

खेल सामग्री, खेल पोशाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखेका हुन् । देशले ठूलो आशा र भरोसा गरेको भन्दै खेलाडीहरुलाई उच्च मनोवलका साथ तयारी र प्रतिष्पर्धाका लागि सदस्य– सचिव घिसिङले सुझाव दिए । 

स्वास्थ्यलाई विशेष ख्याल गर्न सुझाव दिँदै सदस्य–सचिव घिसिङले उचित प्रबन्ध मिलाउन सम्बन्धित संघहरुलाई निर्देशनसमेत दिएका छन् । 

खेलाडीहरु खेल्न जाने समयमा आएर सदस्यसचिव घिसिङले चासो राखेका हुन् ।  

खेलाडीले आफूहरुलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका छन् । 

प्रशिक्षकहरुले खेलाडीहरुको प्रशिक्षण तालिम, खुराक, खेल सामग्री व्यवस्थापनका विषयमा जानकारी दिएका  थिए ।  
 
प्रशिक्षणमा रहेका खेलाडीहरुले बिहान–बेलुका दैनिक ५ घण्टा भन्दा बढी प्रशिक्षण गरी रहेको राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले जानकारी दिए । 

छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो  खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रशिक्षक देवु थापा तथा सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदिप खाती सहभागी थिए । 

पेरिस ओलम्पिमा यस पटक नेपालबाट सहभागी हुने सात जना खेलाडीमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडयमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेक्जेण्डर शाह वैदेशिक प्रशिक्षणमा रहेको निर्देशक विष्टले जानकारी दिए । 

छलफलमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ