arrow

शिक्षासेवी एवं सामाजिक व्यक्तित्व शंकर गौतमको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
shankar-gautam.jpg

पोखरा । पोखराका शिक्षासेवी एवं सामाजिक व्यक्तित्व शंकर गौतमको निधन भएको छ । केही महिनादेखि प्रेसर र जण्डिजबाट ग्रसित गौतमको उपचारका क्रममा सोमबार दिउँसो ६७ वर्षको उमेरमा निधन भएको हो ।

पोखरा-२० भलाममा जन्मिएका गौतम हाल पोखरा-१६ बाटुलेचौरमा बस्दै आएका थिए । गौतम पूर्व जिल्ला शिक्षा अधिकारी हुन् । उनले कास्की, काठमाडौँ र सप्तरीको जिल्ला शिक्षा अधिकारी भएर सेवा गरेका थिए ।

भलामस्थित श्रृंखला युवा क्लबको संस्थापकसमेत रहेका शंकरले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रमुख भएर काम गरेका थिए ।

खेलकुद क्षेत्रप्रति लगाव राख्ने गौतम विशेषगरि भलिवल खेलमा निकै रुचि राख्दथे । समाजसेवी व्यक्तित्व निर्मल खत्रीका अनुसार गौतम अत्यन्तै आत्मविश्वासी, निडर, सबैसँग मिल्ने, कसैसँग नरिसाउने र रमाइलो गर्ने स्वभावका थिए ।

गौतमका पिता तेजबहादुर गौतम भलामका तत्कालीन प्रधानपञ्च तथा पूर्वगाविस अध्यक्ष हुन् । उनको यसअघि नै निधन भइसकेको छ ।

उनकी आमाहरु राममाया गौतम र तुलसी गौतम छन् । शंकरका श्रीमती सरस्वती गौतम, एक छोरा किरण, बुहारी रीना गौतम, दुई छोरी लीशु र सन्ध्या छन् ।

शंकरका ५ दाजुभाइ डा. नारायण गौतम, ध्रुव गौतम, यादव गौमत, धिरज गौतम, सुशील गौतम र किशोर गौतम छन् ।

यस्तै दिदीबहिनीमा कालिका गौतम, सरस्वती गौतम, चन्द्रा गौतम, लक्ष्मी गौतम, भीममाया गौतम, रीतु गौतम र सम्झना गौतम छन् ।

स्व. शंकरको मंगलबार बिहान ८ बजे पोखरा-१६ स्थित निवासबाट शवयात्रासहित अन्त्येष्टि गरिने बताइएको छ ।

यसैबीच गौतमको निधनप्रति पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् । उनले गौतमको निधनबाट आफू स्तव्ध भएको भन्दै भावपूर्ण श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसैगरी पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पनि गौतमको निधनप्रति दुःख व्यक्त गर्दै आफूले असल अभिभावक गुमाएको उल्लेख गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल र युवा नेता एवं कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले गौतमको निधनले सिंगो पोखराका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

साथै गौतमको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरुले समेत दुःख व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ