arrow

झापालाई महिला फुटबलको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
winner-jhapa.jpg

खोटाङ । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर रङ्गशालामा मंगलबार सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १-० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । 

झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् ।

उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार  प्राप्त गरेको छ । 

उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफरले उत्कृष्ट खेलाडी भइन् । उनले सेमिफाइनल खेलमा ताप्लेजुङविरुद्ध ६ गोल गरिन् । उनले रु पाँच हजार प्राप्त गरिन् । 

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाकी जसोदा राई, उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर झापाकी सिम्रन राई, उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदीयमान खेलाडी खोटाङकी रिया राई घोषित भए । उनीहरुले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलगायतले पुरस्कार प्रदान गरे । 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिए । 

चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ