arrow

मनसुन शनिबार बिहानसम्म सक्रिय हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
sundari-duban-81-3-26.jpg
तस्बिर –अविरल वर्षापछि सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आएको बाढीले जलमग्न सडक, रासस ।

काठमाडौँ । शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान विभागले विशेष बुलेटिन जारी गर्दै  शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्क हुन आग्रह गरेको छ ।

विभागले हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सीमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको जनाएको हो ।

साथै बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको जानकारी दिएको छ । 

विभागले आज रातिदेखि शनिबार बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । 

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै शनिबार बिहानसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,  शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ