arrow

काभ्रेमा पाँच हजार बढी परिवार जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
pahiro-kavre.JPG

काभ्रेपलाञ्चोक ।  जिल्लामा मनसुनजन्य विपदबाट पाँच हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा हुनसक्ने बाढीपहिरो, चट्याङ तथा हावाहुरीजस्ता मनसुनजन्य विपद्का घटनाबाट पाँच हजार पाँच सय ९९ घरपरिवारका २६ हजार एक सय प्रभावित हुनसक्ने आँकलन गरेको हो । 

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बुधबार धुलिखेलमा बसेको समितिको बैठकमा जिल्लामा मनसुनजन्य विपद्का घटनाबाट उक्त सङ्ख्यामा नागरिक प्रभावित हुनेसक्ने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार काभे्रपलाञ्चोकमा बाढी, पहिरो, डुबान, चट्याङ र हावाहुरीको जोखिम छ । 

सोहीअनुसार स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा सरोकारभएका निकायबीचको सहकार्यमा पूर्वतयारी गरिएको प्रजिअ सेढाईंले बताए । “विपद्जन्य घटनाबाट घरपरिवार तथा बस्ती स्थानान्तरणसम्म गर्नुपर्ने हुनसक्छ, त्यसका लागि पूर्वतयारीमा जुट्नुपर्छ”, उनले भने । 

सुनकोशी, इन्द्रावती र रोशी खोला तथा स–साना खहरेमा आउनसक्ने बाढीका कारण नागरिक तथा यातायातका साधन प्रभावित हुनसक्ने समितिले जनाएको छ । जिल्लामा बाढीका कारण एक हप्तामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । 

काभे्रपलाञ्चोकअन्तर्गत पर्ने अरनिको र विपी राजमार्ग एक सातादेखिको अविरल वर्षाले पहिरो जाँदा पटकपटक अवरुद्ध भएको छ । बैठकले घटनामा राहत तथा पुनःस्थापनाका लागि विपद् कोषको रकम खर्च गर्ने, राहत तथा उद्धारका लागि आवश्यक सामग्री जिल्ला आपत्कालीन सञ्चालन केन्द्र र समितिसँग समन्वय गरी तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई खुला क्षेत्र र ठूला भवन व्यवस्थापन गरी तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ