arrow

एमाले स्थायी समितिको निर्णय : देशव्यापी आन्दोलन गर्ने (विज्ञप्तिसहित)

आन्दोलनमा सत्तापक्षले घुसपैठ गरेर तोडफोड र आगजनी गरेको आरोप

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
UML-new-aa.jpeg

काठमाडौं । मुख्य विपक्षी एमालेले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठकले संसद सचिवालयमा दर्ता राष्ट्रियहित विपरीत, असंवैधानिक र जनविरोधी रहेको भन्दै सदन र बाहिर भइरहेको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय भएको  स्थायी समिति सदस्य एवं संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङले हाम्राकुरालाई बताए ।

बैठकबाट बाहिरिएपछि नेम्बाङले भने, ‘समसामयिक विषयमा गहन छलफल भयो । राष्ट्रहित विपरीत सरकारले ल्याएको संविधान संशोधन विधेयकविरुद्ध अहिले भइरहेको आन्दोलनलाई अझ व्यवस्थित बनाउने निर्णय भयो ।’

यस्तै, प्रचार विभाग प्रमुख योगेश भट्टराईल बैठकले गरेको निर्णय वक्तव्यमार्फत जानकारी गराएका छन् । वक्तव्यमा भनिएको छ, ‘संशोधन विधेयकविरुद्ध संसदभित्र र बाहर जारी राजनीतिक दल, संघ–संगठन तथा नागरिक समाजलाई एकतावद्ध गर्दै आन्दोलनलाई प्रभावकारी र देशव्यापी रुपमा अघि बढाउने निर्णय गरिएको छ ।’

शान्तिपूर्ण र संयमित रुपमा भैरहेको आन्दोलनलाई वितन्डाको संज्ञा दिने, राजनीतिक मतभेद र द्वन्द्व बढाउने, नेपाली, जनताको साम्प्रदायिक सद्भावलाई उत्तेजित बनाएर खल्बल्याउन सरकारको नेतृत्वमा रहेका दलका कतिपय नेताहरु र सत्ता पक्षीय दलहरु सहित सरकारका कतिपय पक्षबाट आएका अभिव्यक्ति तथा व्यवहारप्रति बैठकले विरोध गरेको छ– विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘आन्दोलनका क्रममा सत्ता पक्षका व्यक्ति र दलहरुबाटै प्रतिपक्षका कार्यक्रमहरु अवरोध सिर्जना गर्ने, पार्टी कार्यालय तथा नेता र कार्यकर्ताका घरमा तोडफोड गर्ने र आगजनी समेत गर्ने घटनाको एमाले निन्दा गर्दछ ।’ एमालेले आफुहरुको आन्दोलनमा घुसपैठ भएको आरोप समेत लगाएको छ ।

बैठकले नेपालको आन्तरिक मामिला सल्ट्याउन नेपाल आफैँ सक्षम रहेको भन्दै यसमा हात नहाल्न छिमेकी भारतलाई चेतावनी दिएको छ । शनिबार मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको संविधान संशोधन प्रस्ताव महत्वपूर्ण कदम भन्दै पारित गर्न सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ