arrow

मधेस प्रदेश सभाको अवरोध हट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
madhes-oath-2079.jpg
फाइल तस्बिर

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिबद्धता जनाएसँगै मधेस प्रदेशसभा बैठकको अवरोध हटेको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकको सुरुमै जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर प्रदेशसभा बैठक अवरोध गरेका थिए ।

सभामुख रामचन्द्र मण्डलले यो विषयमा यसअघि पनि चार÷पाँच पटक छलफल भइसकेको र निकास ननिस्केको बताउँदै समय अभावका कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तीमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न समय दिए ।

मुख्यमन्त्री सिंहले आफ्नो धारणा राख्दै बजेटमा कहीँकतै कमजोरी भएको छ भने उच्चस्तरीय छानबिन समिति गठन गर्ने र निर्वाचन क्षेत्रमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रतिबद्धता जनाए ।

“मैले सुरुदेखि नै बजेटमा कहीँकतै गडबड छ भने उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी भेटिएकालाई कारबाही गर्छु भन्दै आएको छु । मैले कहिल्यै पनि छानबिन गर्दिन भनेको छुइन”, मुख्यमन्त्री सिंहले भने । 

उनको प्रतिबद्धतासँगै मधेस प्रदेशसभामा जसपाको अवरोध हटेको छ । शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको आयव्यय र राजस्व अनुमानमाथि छलफल हुने कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ