arrow

गगन थापा किन जाँदै छैनन् सरकारमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
gagan-thapa-81-2-23.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवसर पाउँदा पनि सरकारमा नजाने बताएका छन् । उपप्रधानसहित कांग्रेसको नेतृत्व गर्दै उनलाई सरकारमा जान सभापति शेरबहादुर देउवाले नै आग्रह गर्दासमेत महामन्त्री थापा भने सरकारमा नजान खोजिरहेका हुन् । 

उनको स्पष्ट भनाइ छ ‘सरकारमा जाँदा पार्टी अलपत्र पर्नेछ । महामन्त्रीको भूमिका खड्किने छ ।’ 

नेता थापाले बिहीबार मात्रै पनि विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफू पार्टीको काममा व्यस्त रहेकाले सरकारमा नजाने बताए । 

कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय भएसँगै गगनलाई उपप्रधानसहित कांग्रेसको नेतृत्व गरेर सरकारमा जान आग्रह गरिएको थियो । 

तर उनले त्यसलाई लत्याए । उनको विचारमा यतिबेला सरकार भन्दा पार्टी बलियो बनाउनु पर्नेछ । पार्टी बलियो भए सरकार झन् सशक्त बन्ने उनको निष्कर्ष छ । 

उनले भन्दै आएका छन् कि पार्टीगत काम अलपत्र भएकाले त्यसको सुधारको लागि लाग्नुपर्नेछ । सरकारमा जाँदा महामन्त्रीको हैसियतमा गर्नुपर्ने काम अनेक भएकाले पार्टीका काम अलपत्र पर्ने उनको चिन्ता छ ।

गगन जहाँ लाग्छन् त्यसलाई स्मरणीय बनाइछाड्छन् । उनी सरकारमा जाना साथ सरकार र पार्टीलाई समय दिनुपर्ने हुँदा दुवैतिर सतप्रतिशत काम गर्न सक्दैनन् । 
 
उनी यसअघि एकपटकमात्र मन्त्री भए । स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदा उनले मात्र ८ महिना काम गरे । तर जति समय काम गरे त्यो स्मरणयोग्य रहेको छ । 

त्यतिबेला दैनिक १८ घण्टा काम गरेर स्वास्थ्यमा केही दीर्घकालीन काम गरेका उनले अहिले भने समय सरकारलाई भन्दा पार्टीमै दिनुपर्नेमा जोड दिएका छन् । 

मन्त्री बन्न हानथाप हुँदै आएको हुन्छ तर महामन्त्री थापाले सरकारमा जान खोजिरहेका छैनन् । 

जति सरकारलाई समय दिन्छन् त्यति नै पार्टी भद्रगोल रहने भन्दै उनले पार्टीमा भूमिका खेलेकाहरुलाई सरकारमा पठाउन खोजिरहेका छन् । 

उनले पहिले पटक–पटक अवसर पाएर सरकारमा गए पनि काम नगर्नेहरुलाई कोटा पूरा गर्न पठाउनु भन्दा अवसर नपाएका जुझारु नेताहरुलाई सरकारमा पठाएर उदाहरणीय बनाउन खोजिरहेका छन् । 

त्यसका लागि उनले सभापति शेरबहादुर देउवालाई दबाब पनि दिइरहेका छन् । त्यसैगरी सरकारलाई समावेशी बनाउनका लागि पनि उनी लागिरहेका छन् । 

ओली पनि सरकारमा गगनलाई चाहन्छन् तर गगन चाहँदैनन् 
कांग्रेससँग सहकार्य गरेर प्रधानमन्त्री बन्दै गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गगनलाई खोजिरहेका छन् । 

यसको प्रमुख कारण भनेको गगनको नैतिकता नै हो । कांग्रेस सरकारमा हुँदासमेत गगनले प्रतिनिधि सभाको बैठकमा सरकारले गरेका गलत कामको चर्को आलोचना गरे । विरोध गरे । 

सरकार गलत बाटोमा हिँड्ना साथ गगनले आफ्नै सभापति प्रधानमन्त्री हुँदासमेत प्रश्न खडा गरे । सरकारका काम कारबाहीको जवाफ मागे । त्यस्तै अन्य दलको प्रधानमन्त्री भएर आफ्नो पार्टी सरकारमा जाँदासमेत आफ्नै पार्टीका मन्त्रीसँग पनि जवाफ मागे । 

गगन आफ्नै पार्टीको सरकारका प्रतिपक्षी सांसदका रुपमासमेत परिचित छन् । केपी ओलीले गगनलाई सरकारमा समावेश गर्न खोजिरहेको प्रमुख कारण यही नै हो । 

ओली सरकारमा रहँदा सबैभन्दा बढी आलोचना गर्ने गगन नै हुन् । नयाँ सरकारमा ओली रहँदा त्यसको पनि आलोचना हुने निश्चित छ । 

त्यही आलोचना नहोस् भन्नका लागि ओलीले सरकारमा गगनलाई मिसाउन चाहिरहेका छन् । ताकि आफ्नो विरोध नहोस् । 

तर यस बारेमा गगनले अहिले नै स्पष्ट पारिसकेका छन् । बिहीबार विराटनगरमै सञ्चारकर्मीसँग गगनले आफू सशक्त सांसद भएरै उत्रिने बताए । 

उनले भने, ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्ने पनि, कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुपयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होइन सत्ता पक्षले पनि गराउनु पर्छ ।’

गगनले अगाडि भने, ‘त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो ‘रो’ बाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेका बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । मेरो भूमिका सांसदको रुपमा रहन्छ ।’ 

साथै गगनले पार्टीलाई सशक्त बनाउनका लागि सही समयमा सही काम गर्नुपर्ने बताइरहेका छन् । पार्टीलाई जनतासँग जोड्नु पर्नेमा उनको जोड छ । 

उनले कांग्रेसले थालेको अभियान अझ सशक्त बनाएर लैजानु जरुरी रहेको बताउँदै आएका छन् । पार्टीले तय गरेको क्यालेन्डरअनुसार गतिविधिहरु समयमै पूरा गर्नका लागि पनि पार्टीलाई सशक्त बनाउनु जरुरी रहेको उनको निष्कर्ष छ । 
 



नयाँ