arrow

मनसुनजन्य विपद्मा परी ३८ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
pokhara-pahiro-puranchaur.jpg
फाइल तस्बिर

गण्डकी । यही असार १ गतेदेखि हालसम्म भएका मनसुनजन्य विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन् ।

सबैभन्दा बढी कास्कीमा पहिरोमा परी १४ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार मनसुनी विपद्मा परी स्याङ्जामा ७, लमजुङमा ५, तनहुँमा ४, बागलुङमा ३, म्याग्दीमा २, पर्वतमा २ र नवलपुरमा १ जनाको मृत्य भएको हो ।

गए रातिमात्र पहिरोका घटना परी कास्कीमा ११ र म्याग्दीमा २ जनाको मृत्यु भएको थियो ।

मनसुनजन्य विपद्का घटनामा ८ महिला र १७ पुरुष गरी २५ जना घाइते र ७६ जना विस्थापित भएका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले जानकारी दिए ।

“९१ पशुचौपाया र ६ सय ९० पक्षीको मृत्यु भएको छ । विपद्का कारण झण्डै २ करोड बराबरको भौतिक क्षति भएको छ”, उनले भने ।

सबैभन्दा बढी कास्कीमा २३ मनसुनजन्य विपद्का घटना भएका प्रहरी प्रवक्ता रेग्मीले बताए । सो अवधिमा गोरखा र मुस्ताङमा विपद्का घटना भएका छैनन् ।

उनका अनुसार स्याङ्जामा १२, पर्वतमा १०, नवलपुरमा ६, बागलुङमा ४, लमजुङ ८, मनाङमा १, म्याग्दीमा ८ र तनहुँमा ८ विपद्का घटना भएका छन् ।

यसैबीच, केही दिनयता निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ