arrow

नारायणीमा दुई शव फेला, सिमलतालबाट त्रिशूलीमा खसेका दुई बसका यात्रु भएको अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
gotakhor-81-3-29.jpg
तस्बिर – चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालको पहिरोका कारण बेपत्ता दुई बस र यात्रुको खोजीका लागि त्रिशूली नदीमा पस्ने तयारीमा रहेका गोताखोर, रासस ।

नवलपुर । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकानुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् ।

नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँच जनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए । 

पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८–२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिरोका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए । 

यसअघि शुक्रबार बिहान सिमलतालमा दुई बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । जसमा करिब ६५ यात्रु भएको बताइएको छ । तीन यात्रु पौडेर बाँच्न सफल भएका थिए भने शनिबार बिहान एक यात्रुको शव फेला परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ