arrow

शेखर–गगन समूहले सिफारिस गर्‍यो मन्त्रीको नाम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
shekhar-arjun-badri-jiwan.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै सरकारमा जानका लागि दलहरुले आफ्ना सांसदहरुको नाम सिफारिस गर्ने क्रम जारी रहेको छ । एमालेले अझै आफ्ना मन्त्रीहरुको नाम सार्वजनिक गरेको छैन भने कांग्रेसले संकलन जारी राखेको छ । 

कांग्रेसको कार्यसम्पादन समितिको शनिबार बैठक बसेर मन्त्री बन्ने मापदण्ड तय गरेको थियो । सोअनुसार कांग्रेसको संस्थापनइतर समूहले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । स्रोतले जनाएअनुसार इतरको शेखर–गगन समूहले चार जनाको नाम सिफारिस गरेको छ । त्यस्तै राज्यमन्त्रीका लागि थप प्रयास थालेको छ । 

भागमा पर्ने चार जनाको नाम डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् । बिहान कोइरालाको सचिवालय विशालनगरमा नेताहरुको भेला बसेर टुंगो लगाएको बुझिएको छ । 

जसमा सांसदहरु प्रदीप पौडेल (काठमाडौँ), रामनाथ अधिकारी (धादिङ), तेजुलाल चौधरी (सप्तरी), र हृदयराम थानी (सुर्खेत) रहेका छन् । 

सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार भने यो लिष्टमा अट्न नसकेको स्रोतले बताएको छ । परियारलाई मनाउने प्रयास भइरहेको बताइएको छ । 

 परियारलाई मन्त्री बनाउन देउवा राजी नभएकोसमेत स्रोत बताउँछ । उनको ठाउँमा अर्जुन नरसिंह केसीलाई बनाउन सकिने बताइएको भए पनि उनको नामसमेत सिफारिसमा नपरेको स्रोत बताउँछ । 

यसअघि संसदीय समिति सभापतिसमेत नखाएका परियारलाई समावेशीका आधारमा मन्त्री बनाइने निश्चित जस्तै थियो । तर अचानक समीकरण बदलिएको स्रोतको दाबी छ । 

चार जना मन्त्री बाहेक राज्यमन्त्री पाएका खण्डमा लीला बोखिम र प्रतिमा गौतमलाई समावेश गर्न सकिने उल्लेख गरिएको छ । 

कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सामेल हुने निश्चित जस्तै छ । गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्र मन्त्रीमा आरजू राणा देउवाको नाम रहेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ