arrow

त्रिशूलीमा आफन्त बेपत्ता भएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
trisuli-81-3-29w.jpg

चितवन । यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्‍यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए ।
 
उनीहरु विगत चार दिनदेखि त्रिशूली किनारमा आफन्तहरुको खोजीमा सक्रिय छन् । उनीहरु बिहानदेखि साँझसम्म त्रिशूली किनारमै हुन्छन् । आफन्तलाई जीवितै पाउने आश मार्दै गरेका उनीहरुमा राज्यले सक्ने जति उद्धारमा जुटेन कि ? भन्ने आशङ्का परेको छ ।
 
उर्लिएको त्रिशूलीको खोचमा आफन्त त परको कुरा दुई वटा बस नै अहिलेसम्म भेटिएका छैनन् । उनीहरुले खोजी कार्य छिटो गरिदिन अनुनय विनय गरिरहेका छन् । तीन दिनको खोजीले उल्लेख्य सफलता नमिलेपछि गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल घटनास्थल पुगे । उनीहरुलाई घटना स्थलमा रहेका बेपत्ता परिवारका सदस्यहरुले आफ्नो परिवारका सदस्यहरुको छिटो खोजी गरिदिन आग्रह गरे । 

मामाको छोरो (भाई) त्रिशूलीमा बेपत्ता भएपछि खोजीका लागि हेटौँडाबाट आउनुभएका नकुबहादुर थापा अहिलेको तरिकाले बेपत्ताहरु भेट्टाउनै मुस्किल हुने भन्दै अरु विधि अपनाउन आग्रह गरे । उनले गृहसचिवको टोलीसँग गुनासो गरे, “उच्च प्रविधिको प्रयोग गरेर बेपत्ताको खोजी गरिदिनुहोस् ।”
 
रौतहटबाट भाई खोज्न आ्एका मोहन दास अहिले पनि कतै भेटिन्छ की भन्ने आशमा नै छन् । तीन दिनदेखि आएर नदी तिरै हेरेर मात्रै बस्नुपरेको बताउँदै उनले छिटोभन्दा छिटो बेपत्ताको खोजी गरिदिन अनुरोध गरे ।
 
यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले दुई वटा बसमा सवार यात्रुहरुको खोजीमा तदारुपता देखाउन आग्रह गरे । 

उनीहरुको गुनासो सुनेपछि गृहसचिव अर्यालले उद्धारका लागि काम भइरहेको बताए । उनले भने, “छिटोभन्दा छिटो उद्धार सामग्रीहरु उपलब्ध गराउने विषयमा काम भइरहेको छ, चीन र भारत सरकारबाट पनि सामग्री उपलब्ध गराउने कुरा भएको ।”

विपद् प्रतिकार्य योजना तयारी गरी काम भइरहेको बताउँदै उनले शवहरु पहिचान र मृतकका परिवारलाई राहत दिने एवं यहाँ उठेका कुरामा गृह मन्त्रालयले नेपाल सरकारलाई जानकारी गराउने बताए । यहाँको वस्तुस्थिति प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराइने उनले बताए ।
 
टोलीले घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यबारे जानकारी लिएको थियो । हालसम्म घटनास्थलभन्दा तल नारायणी नदी किनारमा पाँच वटा शव फेला परेका छन् । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिचान खुल्नेमा भारतको बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ का ४० बर्षिय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगपालिका वडा नम्बर १ का २२ बर्षिय विकास परियार, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सितामणी बर्गिनिया जमुहवा बस्ने २८ वर्षीय ऋर्षि पल साह रहेका छन् ।
 
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ नारायगढ–मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ गई रहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुबाहक बस र काठमाडाँैबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१– नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् । 

ती दुई बसमा यात्रु चलानीका आधारमा ५१ जना यात्रु सवार भएको पुष्टि भएको थियो । तीमध्ये तीन जना पौडिएर उत्रिएका थिए । उनीहरु अवस्था सामान्य छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ