arrow

सामाजिक कामबाट उदाएकी आरजूको सरकारमा पहिलो पाइला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
arzu-deuba-rana-2080-always.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजू राणा देउवा मन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राणालाई परराष्ट्र मन्त्री पदमा नियुक्त गरेका हुन् । 

२०१८ साल माघमा ललितपुरमा जन्मिएकी आरजूले काठमाडौँको पद्मकन्या क्याम्पसबाट स्नातक र भारतको पञ्जाव विश्वविद्यालयबाट मनोविज्ञान विषयमा स्नातकोत्तर तथा विद्यावारिधि गरेकी छिन् ।

यो बीचमा उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी तथा सामाजिक संस्थासँग आवद्ध भएर काम गरिन् । समाजसेवा र महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएकी थिइन् ।

उनी सामाजिक कामबाटै उदाएकी हुन् । उनको सामाजिक काममा राम्रो दख्खलसमेत रहेको छ । 

नवनियुक्त मन्त्री राणा नेपाली कांग्रेसबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । मन्त्री नियुक्त हुनुअघिसम्म उनी प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापतिसमेत थिइन् । 

३० वर्षको उमेरमा उनले २०४८ सालमा तत्कालीन गृहमन्त्री रहेका हाल नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवासँग विवाह गरेकी थिइन् ।

त्यतिबेला देउवाको उमेर ४५ वर्षको थियो । विवाहको ५ वर्षसम्म पनि राणा राजनीतिमा थिइनन् । २०५२ सालमा देउवा प्रधानमन्त्री भएपछि उनी नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी १४ औँ महाधिवेशनमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेकी हुन् । 

उनी २०६४ सालको पहिलो संविधान सभाकी सदस्य तथा २०७४ सालमासमेत संघीय संसदको समानुपातिक सदस्य थिइन् । पहिलो संविधान सभाको कार्यकालमा संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष भएरसमेत काम गरेकी थिइन् । 

आरजूले शेरबहादुर देउवाको पोर्टफोलियोको साथमा आफूलाई एउटा शक्तिकेन्द्रको पहिचान बनाएकी छिन् । 

अध्ययन, कार्यानुभवको आधारमा उत्कृष्ट भएरै उनी अगाडि आएकी छिन् । उनी सभापति देउवाकी पत्नी नभएको भए अझ छिटो मन्त्री बन्ने क्षमताकी हुन् भनेरसमेत विश्लेषण गरिन्छ । 

परराष्ट्र मामिलामा उनी सशक्त हुने विश्वास पनि गरिएको छ । उनका सल्लाहकार नै देउवा भएकाले पाँच पटकका प्रधानमन्त्रीको अनुभवले आरजूलाई मन्त्रालय सम्हाल्न सहज हुने विश्वास गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ