arrow

उच्च अदालतको आदेशपछि न्यूरोडको फुटपाथ विस्तार पुनः शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
newroad-road-expand-81-4-2.jpg

काठमाडौँ । अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिएको छ । महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि शुरु गरको हो ।

यसअघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो । 

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।  डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । 

अदालतले राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा गरेको प्रवन्ध अनुसार स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई समेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था गरेको भन्दै महानगरको पक्षमा आदेश दिएको थियो । 
 
फुर्यो बालेनको कविता–
अदालतको आदेशसँगै काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) लाई कविता फुरेको छ । उनले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् ।

सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वौच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको छ भने पाटन उच्च अदालतले न्यूरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम पुनः शुरु भएको छ । 

बालेनको कविता यिनै घटनाप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

यस्तो छ कविता–
सत्यको कुनै एउटा पहिचान
कुनै नाम हुँदैन
मिथ्याको जस्तो ठूलो अभिमान
कुनै शान हुँदैन
जलझैँ शीतल, फूलझैँ कोमल
सून न पित्तल, किसानझैँ फोहर
आकाशझैँ विशाल 
स्पर्शझैँ सूक्ष्म
सगरमाथाझैँ हिमाल
थोपाझैँ पूर्ण
सत्यको कुनै दाम हुँदैन
कुनै एउटा पहिचान
कुनै एउटा काम हुँदैन
नाम हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ