लिबाङ (रोल्पा) । जीर्ण भइसकेको जिल्ला कारागार कार्यालय रोल्पाको बन्दी गृहमा क्षमता भन्दा दोब्बर कैदी बन्दीहरु थुनिएका छन् । ससाना कोठा, साँघुरो गल्ली र उस्तै सानो आँगनमा कैदी बन्दीहरुलाई साँच्चीकै सास्ती भएको उनीहरुले बताए ।
हामीलाई सबैभन्दा चर्पीको समस्या छ बन्दीगृहबाट थुनामा रहेका हुकुम बुढाले भने । दिनभरी चर्पीमा दिसापिसाव गरेपनि राती कोठामा बाल्टी राखेर पालैपालो दिसापिसाब गर्नुपर्छ । एक त कोचिएर बस्नु त्यसमा पनि गन्हाएर बसी नसक्नु हुन्छ । साथै हामीले भित्रै बसेर पनि केही सीपमूलक काम गर्नका लागि खुल्ला ठाउँ छैन । कपडा सुकाउन घाम ताप्न पनि उत्तिकै गाह्रो छ उनले भने ।
यस्तै बन्दी गृहमै थुनामा रहेका हरिप्रसाद वलीका अनुसार साँझ ५ बजेदेखि विहान ५ वजे सम्म कोठाको ढोका थुनिएपछि चर्पी जान मिल्दैन यसरी कोठा बन्द हुँदा बाल्टीमै दिसापिसाव गर्न बाध्य छौं । कहिलेकाँही बाल्टी भरिदा सुरक्षा कर्मीको सहयोगमा चर्पीको ढोका खोल्न लगाइ बाल्टी खाली गर्दै आएका छौं ।
विक्रम सम्वत् २०२९ सालमा स्थापना भएको कारागारमा जम्मा ५० जनाको क्षमता भएको भएपनि हाल ९१ जना कोचिएर बस्न बाध्य भएको उनीहरुको गुनासो छ । जसमा महिलाका लागि छुट्याइएको २ वटा कोठामा ३ नावालक र १२ जना महिला गरी जम्मा १५ जना छन् भने पुरुषका लागि छुट्याइएका ८ वटा कोठामा ७६ जना बस्दै आएको प्रहरी सहायक निरिक्षक कुलबहादुर रावतले जानकारी दिए ।
रावतका अनुसार ८५ जना जसोतसो कोचाकोच गरेर बसेको अवस्थामा जिल्ला कारागार कार्यालय सल्यानबाट थप ६ जना स्थानान्तरण भएर रोल्पा कारागारमा आएसंगै उनीहरुलाई थप समस्या भएको छ ।
यसरी सल्यान कारागारबाट स्थानान्तरण भएर रोल्पा कारागारमा ल्याइएकाहरुमा जवर्जस्ती करणीमा ५ वर्ष ५ महिना ८ दिनका लागि कैद सजाय भोग्दै आएका विकास पुन भन्ने देवबहादुर सुनार, आगो लगाई ज्यानमार्ने उद्योग गरे बापत ५ वर्ष कैद भोग्दै आएका टोपबहादुर बुढाथोकी, कर्तब्य ज्यानमा १० वर्षको कैद साजय भोग्दै आएका शेरबहादुर बुढाथोकी, कर्तब्य ज्यानमै ९ वर्ष कैद भोग्दै आएका नरबहादुर रेउले, जवर्जस्ती करणी गरे वापत ६ वर्षको कैद सजाय भोग्दै आएका पदम नेपाली र जीउ मास्ने बेच्ने तथा लागु औषध काण्डमा परी १५ वर्ष २ महिनाको सजाय भोग्दै आएका जुनकरी सैयाद मुसलवान रहेका छन् ।
यता कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मी भने सल्यानबाट स्थानान्तरण भएर रोल्पा ल्याइएका कैदीहरुलाई दाङमा पठाउने कुरा भएको तर दाङले स्वकृती नदिएको हुँदा आफूले रोल्पाका लागि स्वीकृति दिएको बताउछन् ।
यस्तै प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले भने - 'हामीले जे जस्तो समस्या तथा चुनौतिहरु सहेर भएपनि आन्तरिक र बाह्य सुरक्षा दिनैपर्छ र दिदैपनि आएका छौं तरपनि जीर्ण कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्दा सबैलाई अप्ठेरो महसुस भइरहेको छ हामीलाई ।'
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले क्षमता भन्दा बढी कैदी भएको हुँदा सहज वातावरण मिलाउन वा पुनः उनीहरुलाई स्थानान्तरणका लागि सम्वन्धीत निकायसंग पहल गर्ने आश्वासन दिए ।